• ५ जेठ २०८२, सोमबार

आफ्नै बिउ बिक्दैन भारतीयमा भर

blog

तस्बिर : टोपलाल अर्याल बारीमा मकै रोप्दै इस्मा गाउँपालिका–३ का चन्द्रबहादुर नेपाली ।

रेसुङ्गा समाचारदाता

रेसुङ्गा, वैशाख ३ गते । पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । फागुनदेखि वैशाखसम्म नेपाली उन्नततर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यी मकैका बिउ जिल्लामै उत्पादन हुन्छ तर करिब ७० प्रतिशत किसानले सिपी र जेके जस्ता भारतीय मकैको बिउ धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउन थालेका हुन् । उत्पादन धेरै हुने लोभले किसानहरू भारतीय हाइब्रिड बिउतर्फ आकर्षित भएका कारण जिल्लाको रैथाने ६५ क्विन्टल बिउले बजार नपाएको सहकारीहरूकोे गुनासो छ । जिल्लामा अरुण–२, मनकामना–३ र देउती मकैको बिउ ७.९ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

भारतीय बिउका कारण जिल्लाको रैथाने बाली हराएर जाने खतरा रहेको केन्द्रले जनाएको छ । अरुण–२ बिउ उत्पादन गर्ने घिमिरे कृषि तथा पशुपन्छी फर्म इस्मा गाउँपालिका–६ ले पाँच टन बिउ उत्पादन गरेको थियो । फार्मका सञ्चालक कृष्ण घिमिरेले बिउ नबिकेपछि आधा मूल्यमा खाद्यान्नका रूपमा दिनुपर्ने बताउनुभयो । पुर्कोट उद्यम कृषि सहकारी संस्था मदाने गाउँपालिका–६ ले मनकामना–३ र देउती मकैको बिउ उत्पादन गर्दै आएको छ । मनकामना–३ र देउती गरेर ४० क्विन्टल बिव्रmी गर्न नसकेको सहकारी अध्यक्ष लोकहरी कुँवरले बताउनुभयो ।  चैतको अन्तिम साता वर्षा भएपछि किसानलाई मकै रोप्ने चटारो सुरु भएको छ । बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा रहेका किसानलाई वर्षाले उत्साहित बनाएको छ । पहाडी जिल्लामा अधिकांश किसानले चैतमै मकै रोप्छन् । लामो वर्षा भएकाले मकै रोप्न सुरु गरिएको धुर्कोट गाउँपालिका–६ का रामबहादुर थापाले बताउनुभयो । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । खेतमा फागुन महिनामै मकै रोप्ने र गाउँका बारीमा चैतमा नरोपे कोदो रोप्न समस्या हुने गर्छ । 

गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्खे मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्खे मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।