• ३ वैशाख २०८२, बुधबार

‘सर्भिस सेन्टर’ को कामै सुरु भएन

blog

काठमाडौँ, वैशाख ३ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुग्न लाग्दा यसै आयोजना अन्तर्गत सुरुङमार्गको पश्चिम पोर्टलमा निर्माण हुने बजार (सर्भिस सेन्टर) को काम सुरु नै हुन सकेको छैन । 

त्यहाँ अन्तर्राष्ट्रियस्तरको बजार निर्माणका लागि सुरुङमार्गसँगै बजारको पनि बृहत् परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन तयार भइसकेको छ । सुरुङमार्ग भएर यात्रा गर्ने यात्रुको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने सो आयोजनामा समाहित गरिएको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सञ्जय पन्थीले बजार निर्माण गर्ने ठाउँमा जग्गा स्वामित्व विवादका कारण काम अगाडि बढ्न नसकेको बताउनुभयो । २०५१ सालसम्म सडक विभागको नाममा रहेको जग्गा २०५२ सालमा व्यक्ति र वायु गुठीको नाममा आएको देखिन्छ । व्यक्तिको नाममा सात कित्ता र गुठीको नाममा चार कित्ता जमिन चढेको देखिन्छ । सो ठाउँमा करिब तीन रोपनी सरकारी जग्गा व्यक्ति र गुठीको नाममा चढेको हो ।

उहाँले भन्नुभयो, “पहिला सडक विभागकै नाममा रहेको जग्गा अहिले गुठी र व्यक्तिको नाममा कसरी गयो भन्ने प्रश्न उठेको छ । सरकारका नाममा रहेको जग्गा कसरी व्यक्तिका नाममा गएको हो भन्ने स्पष्ट नभएसम्म कानुनी रूपले मुआब्जा दिन मिल्दैन । मुआब्जा नपाएसम्म अहिलेको जग्गाधनीले जग्गा छोड्दैन । सरकारको जग्गा व्यक्तिको नाममा गएको आवश्यक कागजपत्र र निर्णय नै भेट्न सकिएको छैन ।”

सडक विभागले सो जग्गामाथि अहिले पनि आफ्नो हकदाबी गर्दै आएको बताउँदै उहाँले दोहोरो स्वामित्व भएको ठाउँमा संरचना बनाउन नसकिने स्पष्ट पार्दै सो जग्गा विवादको टुङ्गो नलागेसम्म सो ठाउँमा बजार निर्माण सुरु हुन नसक्ने बताउनुभयो । आयोजना प्रमुख पन्थीले भन्नुभयो, “सो जग्गा विवादको टुङ्गो लगाउन कानुनी प्रव्रिmयामा जानुको विकल्प छैन, अब ढिलो भइसक्यो ।” विवादित जग्गामा अहिले पाँच वटा अर्धपक्की घर निर्माण भइसकेका छन् ।

सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले भन्नुभयो, “२०३५ सालमा त्रिभुवन राजपथ घुम्ती सुधार कार्यक्रम अन्तर्गत राजमार्गको पुरानो ‘एलाइनमेन्ट’ लाई छोडेर पूर्वतर्फ सिफ्ट गरी सडकलाई सिधा गरिएको थियो । यसरी राजमार्गको ‘एलाइनमेन्ट’ परिवर्तन हुँदा छोडिएको जग्गा अहिले व्यक्ति र गुठीको नाममा गएको हो । त्यसबेला पनि मुआब्जा तिरेर व्यक्तिको जग्गा अधिग्रहण गरी राजमार्ग सिधा पारिएको थियो । व्यक्तिको नाममा चढेको जग्गामा अहिले पनि त्रिभुवन राजपथको कालोपत्रे छ ।”

पहिला सरकारका नाममा रहेको जग्गा कुनै कारणवश व्यक्ति वा संस्थाको नाममा चढ्दैमा त्यसकोे मुआब्जा दिन नमिल्ने स्पष्ट पार्दै पूर्वमहानिर्देशक थापाले भन्नुभयो, “स्वामित्व स्पष्ट नभएका कारणले मुआब्जा तिरी अधिग्रहण प्रव्रिmया अगाडि बढ्न सकेन र प्रस्तावित बजार निर्माण रोकिएको हो ।” उहाँका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा कसरी गयो भन्नेबारे खोजबिन गर्दा अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । सो ठाउँमा बजार बनाउनका लागि करिब ४० रोपनी जग्गा अधिग्रहण गरिएको छ । सोहीबिचमा सरकारी जग्गा व्यक्ति र गुठीको नाममा चढेको छ ।

जापानलगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रु ‘फ्रेस’ हुने, आराम गर्ने र आवश्यक सरसामान खरिद गर्ने तथा सवारीसाधनको समेत सामान्य मर्मतसम्भार गर्न सुरुङमार्गको प्रवेशद्वारमा ‘सर्भिस सेन्टर’ निर्माण गरिएको हुन्छ । सोही अवधारणा अन्तर्गत नागढुङ्गा सुरुङमार्गमा पनि ‘सर्भिस सेन्टर’ निर्माण गर्न लागिएको हो । 

सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट) अन्तर्गत निर्माण हुन लागेको सो बजारमा अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटेल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनी स्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचना निर्माण गरिने छ । त्यसै गरी स्थानीय किसानको कृषिजन्य उत्पादन तथा परम्परागत हस्तकला उत्पादनका लागि छुट्टै स्टल निर्माण गरिने छ ।

त्यसै गरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्गे्र सवारीसाधन पार्किङ गर्न मिल्ने पार्किङ स्थल निर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिर गर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिने छ । सवारीचालक एकछिन भए पनि फ्रेस हुन पाउँदा सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको छ ।

मुलुकको पूर्वाधार विकासको पहिलो प्राथमिकता प्राप्त सो आयोजनाको पहिलो कम्पोनेन्ट अन्तर्गत सुरुङमार्ग, दोस्रो कम्पोनेन्ट अन्तर्गत पहुँच मार्ग, तेस्रो कम्पोनेन्ट अन्तर्गत फ्लाइओभर र चौथो कम्पोनेन्ट अन्तर्गत सो सर्भिस सेन्टर निर्माण गरिने छ । निर्माण कम्पनीले सुरुङमार्गसँगै सो बजारसमेत निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको पूर्वमहानिर्देशक थापाले जानकारी दिनुभयो ।