काठमाडौं, वैशाख १ गते । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न माग गरेको छ । संघले सोमबार विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न सरकार समक्ष माग गरेको हो ।
१७ औँ बैठकले सार्वजनिक संस्थामा स्नातकोत्तर तहको सिट सङख्या थप गरी विभिन्न सरोकारवालाले राखेका अन्य विषयमा उचित छलफल र आवश्यक निर्णय गर्ने गरी अर्को बैठक बस्ने निर्णय गरेको थियो । यि सबै परिप्रेक्षमा मुद्दाको समाधानका लागि कहिँ कतैबाट कुनै पहल नभएकाले १८ औँ बैठक बस्न माग गरेको संघका महासचिव डा.सन्जिव तिवारीले जानकारी दिनुभयो ।
सो बैठकबाट हाल स्नाकोत्तर तहमा अध्ययनरत र भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकले सरकारी आठौँ तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्ने, आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्स मा १७ औँ बैठकले पुनः थपेको सिट सङ्ख्या समेत जोडी, एक सिट पनि नघटाई भविष्यमा पिजी सिट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रकृयाको सुरुवात हुनुपर्ने संघको माग छ ।
यि माग ७२ घण्टाभित्र सम्बोधन नभएमा संघ सम्पूर्ण चिकित्सकलाई चरणबद्ध आन्दोलनमा उत्रिन आवाहन गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत सरकारलाई दिएको छ ।
आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकलाई नेपाल सरकारको आठौँ तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तिभरण दिने निर्णय गरेपनि कार्यन्वयन हुन सकेको छैन ।
विगत लामो समयदेखि विभिन्न निजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक एवम् एमडी÷एमएस÷एमडिएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययन गर्न सङ्घर्षरत परीक्षार्थी आन्दोलनरत छन् ।