भैरहवा समाचारदाता
भैरहवा,वैशाख,१ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग सम्बन्धित २९ वटा कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह थपिएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीतिका सम्बन्धमा रुपन्देहीका उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको हो ।
“वर्तमान सरकार बनेपछि अध्यादेशमार्फत एकैचोटी २९ कानुन संशोधन गरेर निजी क्षेत्रका समस्या समाधानको पहल गरिएको छ, यसबाट समग्र आर्थिक क्षेत्रमै उत्साह थपिएको छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले वर्तमान सरकार निजी क्षेत्रलाई सुन्ने हिसाबले अघि बढेको जानकारी दिँदै सरकारको उद्देश्य निजी क्षेत्रमैत्री वातावरण बनाउने रहेको बताउनुभयो । त्यो प्रयासस्वरूप कानुन संशोधन गरिएको पनि उहाँको भनाइ छ । कानुनमा संशोधन गरिएपछि अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिएको र निजी क्षेत्रमा उत्साह बढेको पनि उहाँले बताउनुभयो ।
“आत्मविश्वासका साथ अघि बढ्नूस्, सरकार निजी क्षेत्रसँगै छ,” उद्योगी व्यवसायीलाई आश्वस्त पार्दै अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले प्राप्त सुझाव अध्ययन र विश्लेषण गरेर व्रmमशः कार्यान्वयनमा लगिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले करको दरभन्दा करको दायरा बढाउन जरुरी रहेको भन्दै उच्चस्तरीय राजस्व सुझाव आयोगको सुझावलाई कार्यान्वयन गरिए कर तथा राजस्व क्षेत्रका समस्या समाधान हुने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले विगतमा नाकाबन्दीमा प्रयोग भएका अस्थायी सीमानाका हाल वैध जस्तै गरी चलिरहेका र ती नाकाबाट चोरी तस्करी बढिरहेको गुनासो गर्नुभयो । उद्योगी, व्यवसायी सरकारी निकायमा सेवा लिन जाँदा अलमल हुने खालका संरचना खारेज गरेर एकद्वार नीतिबाट सेवा पाउने अवस्था बनाउन उहाँले सुझाव दिनुभयो ।
पछिल्लो पटक सरकारले निजी क्षेत्रको हितमा अध्यादेशमार्फत ल्याएका कानुनले खुला र प्रतिस्पर्धी बजारको सिद्धान्तलाई आत्मसात् गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । निजी क्षेत्रको प्रवर्धनका लागि त्यतिले मात्र पर्याप्त नहुने उहाँको भनाइ थियो ।
उद्योगी व्यवसायीका गुनासा सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले राजस्व, अर्थ नीतिलगायतका क्षेत्रमा सुधारका लागि निजी क्षेत्रबाट प्राप्त सुझावलाई समावेश गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले विदेशबाट आउने पर्यटकले नेपाल प्रवेश गर्दा ल्याउने रकमका विषयमा अब समस्याको विषय बन्न नहुने बताउनुभयो । सचिव उपाध्यायले व्यापार सहजीकरण सरकारको पहिलो उद्देश्य भएकाले फलफूल र तरकारी भन्सार भएर आएपछि विभिन्न क्षेत्रमा जाँच र नियन्त्रणमा लिने कामको गुनासो अब आउन नदिइने स्पष्ट पार्नुभयो ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भन्सार मूल्याङ्कन वैज्ञानिक बनाउने र सेवाग्राहीलाई सहज सेवा लिने गरी सरकारले काम गरिरहेको बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अर्थतन्त्रको महìवपूर्ण हिस्सा ओगटेको रुपन्देहीमा राजस्व प्रशासन र सुरक्षा निकायबाट राजस्व चुहावटलगायत चोरी–तस्करी नियन्त्रणमा प्रभावकारी काम गरिरहेका बताउनुभयो ।