• २ वैशाख २०८२, मङ्गलबार

तनहुँमा चितुवा आतङ्क बढ्दाे

blog

नरभक्षी चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय तनहुँले बनाएको पाँसो । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ३१ गते । तनहुँमा पुनः नरभक्षी चितुवाले आतङ्क मच्चाएको छ । जङ्गलमा बस्ने चितुवा मानव बस्तीमा आएर मान्छेलाई आक्रमण गर्न थालेपछि यहाँका बासिन्दा आतङ्कित भएका हुन् । 

तनहुँमा सात वर्षको अवधिमा १५ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । बन्दीपुर गाउँपालिका–२ कामी डाँडामा चितुवाको आक्रमणबाट इसुब विकको ९ वर्षकी छोरी अनुजा विकको शुक्रबार साँझ मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्  ।

दिउँसै मानव बस्तीमा आएर आक्रमण गर्न थालेकाले स्थानीय आतङ्कित बनेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । नरभक्षी चितुवाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो । 

बालबालिकालाइै घरमा एक्लै नछोड्न र साँझ घरबाट बाहिर ननिस्कन आग्रह गरिएको थापा बताउनुहुन्छ । गत वर्ष बन्दीपुर गाउँपालिका–५ मा एक बालकको मृत्यु भएको र शुक्रबार वडा नम्बर २ मा बालिकाको मृत्यु भएपछि पुनः चितुवा आतङ्क बढेर स्थानीय आङ्कित बनाएको थापाले बताउनुभयो । 

बालबालिकालाई विद्यालय आउँदा जाँदा पनि आक्रमण पर्ने त्रास छ, चितुवा आतङ्कले दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएकोले नियन्त्रणमा लिन सुरक्षा निकायलाई आग्रह गरिएको थापाले जानकारी दिनुभयो ।

जिल्लामा सात वर्षको अवधिमा १५ बालबालिकाले ज्यान गुमाएका छन् । वि. सं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार चितुवा आहार जङ्लमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हो । डिभिजन वन कार्यालयले सूचना जारी गर्दै बालबालिकालाई एक्लै नछाड्न, घर नजिक रहेको झाडी सफा गर्न र अध्यारोमा नहिँड्न अनुरोध गरेको छ । आहाराको खोजीमा चितुवा मानव बस्तीमा पस्ने गरेकोले वन्यजन्तुको शिकार नर्गन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । 

चितुवा पानीको खोजीमा समेत मानव बस्तीमा आउने हुँदा वन जङ्गलमा भएका पानीका मुहान संरक्षण गर्दै पोखरी निर्माण गर्न कार्यालयले आग्रह गरेको छ । मृग, बँदेल, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । 

चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।