• २ वैशाख २०८२, मङ्गलबार

सिद्धार्थ राजमार्ग छोट्याइन्छ : मन्त्री पौडेल

blog

हरिप्रसाद सुवेदी ‘सुशील’

पुतलीबजार (स्याङ्जा), चैत ३१ गते  । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ । सिद्धार्थ राजमार्ग बुटवल, पोखरा र स्याङ्जाको मात्र नभई मुलुकको अर्थतन्त्रमा टेवा दिने राजमार्ग भएको बताउँदै उहाँले यसबाट पर्यटक पनि आकर्षित गर्न सकिने बताउनुभयो । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ को नवनिर्मित वडा कार्यालय भवन, आधारभूत स्वास्थ्य चौकी भवन र वैघा–रिडी सडक उद्घाटन गर्दै मन्त्री पौडेलले बुटवल–पोखरा सडकखण्ड दुई घण्टामा यात्रा गर्न सकिने गरी छोट्याउने पहल भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “घुम्ती सुधार गर्ने, अग्लो पुल र छोटो सुरुङमार्ग निर्माण गरी यसको दुरी १०२ किलोमिटरमा खुम्च्याउनेबारे छलफल भइरहेको छ ।” यो सडकखण्डको बिचबिचमा अत्याधुनिक पार्क निर्माण गरेर भारतीय पर्यटकको आकर्षण बढाउन सकिने गरी यसको स्तरोन्नति हुँदा छोटो समयमा प्रतिफल दिन सकिने पौडेलको भनाइ थियो । 

नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकारले देशमा विकासको ढोका खोलेको बताउँदै उहाँले अराजकतावादको प्रवृत्ति बोक्नेको शिर उठ्न दिन नहुनेसमेत बताउनुभयो । 

वर्तमान सरकारलाई जनप्रतिनिधि र आमजनताको शक्ति रहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, “यो शक्तिलाई साथमा लिएर विकास निर्माणको राष्ट्रिय अभिभारा पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।”

कालीगण्डकी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन सङ्घीय सरकारको समानीकरण र आन्तरिक स्रोतमार्फत एक करोड ६९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । सात वटा वडा रहेको यो पालिकाका अन्य सबै वडाले आफ्नो कार्यालय भवन निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । 

वडा नं. ३ मा नवनिर्मित भवनमा अपाङ्गमैत्री र बालमैत्री शौचालय निर्माण गरिएको छ । यस्तै विद्युतीय हाजिरीमार्फत कर्मचारीको अनुगमन हुने, कागजरहित पालिका बनाउन अनलाइन सेवा प्रवाह विषयगत शाखाबाट प्रदान गरिने थापाको भनाइ छ । 

सोही कार्यव्रmममा मन्त्री पौडेलले वडा नं. ३ कै आधारभूत स्वास्थ्य चौकीको समेत उद्घाटन गर्नुभएको थियो । एक वडा एक आधारभूत अस्पताल अन्तर्गत आधारभूत स्वास्थ्य चौकी उद्घाटन भएसँगै सामान्य उपचार गर्न पाल्पा जानुपर्ने समस्या अन्त्य भएको छ । सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत एक करोड, प्रदेश सरकारको ४० लाख र स्थानीय सरकारको ३४ लाख ५४ हजारमा निर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने छ । 

यस्तै मन्त्री पौडेलले उद्घाटन गर्नुभएको वैघा–रिडी १७ किलोमिटर कालोपत्रे सडक २७ करोड ४२ लाख १५ हजारको लागतमा निर्माण भएको हो । उक्त सडक कालीगण्डकी कोरिडोरसँग जोडिएपछि यहाँका जनता छिटोछरितो बजारको पहुँचसँग जोडिने छन् । 

कार्यव्रmममा पूर्वमन्त्री तथा नेकपा (एमाले) सचिव पद्माकुमारी अर्यालले मुलुक सङ्घीयतामा गएसँगै देशले मुहार फेरेको धारणा व्यक्त गर्नुभयो । प्रदेश सांसद महेश भट्टराईले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनले देशलाई विकासको दिशातर्फ लगेको विचार व्यक्त गर्नुभयो ।