• २० जेठ २०८२, मङ्गलबार

चित्त बुझ्दो काम नभए ठेक्का तोडिने : मन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निरीक्षण गर्नु हुदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुली, जेठ १८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको चित्त बुझ्दो काम नभए ठेक्का तोडिने बताउनु भएको छ । 

उहाँले आइतबार उक्त आयोजना निर्माणको स्थलगत क्रममा सो कुरा बताउनु भएको हो । मन्त्री खड्काले कमलामाई नगरपालिका–२ कुसुमटारमा सुरुङ मार्ग र सुनकोसी गाउँपालिका–७ कानढुंग्रीस्थित सुनकोसी नदीमा निर्माण सुरु गरेको बाधको स्थलगत निरीक्षण गर्नु भएको हो । सो अवसरमा उहाँले बाँध निर्माण गरी रहेको निर्माण कम्पनी पटेल–रमण जेभीको कार्य प्रतगी निकै सुस्त भएपछि उक्त कम्पनीसँगको ठेक्का तोडिन सक्ने धारण राख्नु भएको हो ।

‘राज्यको यति ठुलो र महत्त्वपूर्ण आयोजनाको कार्य प्रगति कमजोर रह्यो भन्ने बुझाइका साथ हामीहरू यहाँ आई पुगेका हौँ,’ उहाँले भन्नुभयो, ‘जति समय व्यतित भई सक्यो, बाँकी समयको पूर्ण सदुपयोग गरेर समयमै आयोजना निर्माण सम्पन्न गराउनु पर्दछ । निर्माण कम्पनीबाट चित्त बुझ्दो काम नभए सरकार चुप लागेर बस्दैन ।’ 

कार्यस्थलको पनि निरीक्षण गरेको र निर्माण व्यवसायीको पनि गुनासो अवगत भएको जानकारी दिनुहुँदै मन्त्री खड्काले भन्नुभयो, ‘बाढी पहिरो र प्राविधिक समस्याको पनि कुरा उहाँहरू(व्यवसायी)ले राख्नुभयो । सबै कुराको मूल्याङ्कन गरेर ठोस निर्णय लिन्छौँ ।’

आयोजना समयमा सम्पन्न गराउन बजेटको अभाव हुन नदिने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । पटेल–रमण जेभीले चार वर्ष सात महिनमा सक्ने गरी २०७९ साल माघ महिनामा सम्झौता गरेर सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र  एक सय ५८ मिटर  लामो बाध निर्माण कार्य काम अघि बढाएको छ । 

उक्त कम्पनीले बाध निर्माणका लागि लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । पटेल–रमण जेभीले सम्झौता गरेको पचास प्रतिशत समय सकिदा बाध निर्माणको अहिलेसम्म करिब आठ दशमलव आठ प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । 

आयोजना अन्तर्गत कुसुमटारबाट १३ दशमलव तीन किलो मिटर लम्बाइको सुरुङ मार्ग टनेल बोरिङ मेशिन(टिविएम)बाट निर्माण गरी गत वर्ष वैशाखमा ‘ब्रेक थ्रु’ भई सकेको सकेको छ । उक्त पाँच दशमलव पाँच डायमिटरको सुरुङ मार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले करिब ११ अर्ब रुपियाँमा ठेक्का लिएको थियो ।

आयोजना प्रमुख बद्री कार्कीले बाध निर्माणको काम जुन द्रुत गतिमा जानु पर्दथ्यो, त्यो गतिमा निर्माण नभएको बताउनुभयो । बाध निर्माणका लागि जेभिमा दुई वटा निर्माण कम्पनीले सम्झौता गरेको भए पनि रमण कन्ट्रक्सनले मात्रै गर्दै आएको जानकारी दिनुभयो । 

सुनकोसी नदीमा बाध निर्माण भएपनि १३ दशमलव तीन किलो मिटर लम्बाइको सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिण खोलामा खसालिने छ ।  त्यहाँ ६६ दशमलव २९ मिटर हेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७७-०७८ बाट सुरु भएको आयोजना ०८४-०८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत् गृहभित्र विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पुर्याई राष्ट्रिय प्रसारण लाइनमा जोड्नु पर्ने रहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्याउने रहेको आयोजनाले जनाएको छ ।