• २० जेठ २०८२, मङ्गलबार

मेवाको जूस उत्पादन सुरु

blog

नवराज श्रेष्ठ

रामेछाप, जेठ १८ गते । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल कालेमानेमा मेवाको जुस उत्पादन सुरु गरिएको छ । २० जना कृषक आबद्ध टियमजि एग्रो कृषक समूहले निर्माण गरेको मेवाको जुस प्रशोधन सेन्टरले आइतबारबाट जुस उत्पादन सुरु गरेको हो । 

जुस प्रशोधन सेन्टरको बागमती प्रदेश सांसद युवराज चौलागाईं र खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । 

यो जुस प्रशोधन सेन्टर कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय धनकुटाको ४० लाख रुपैयाँ अनुदान र समूहको ६७ लाख रुपैयाँ लगानीमा निर्माण भएको सो समूहका जनकलाल तामाङले बताउनुभयो । आफूहरूको समूहले तीन वर्ष भन्दा बढी समयदेखि मेवा खेती गरिरहेको र मेवा राम्रो उत्पादन भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो“मेवाको खेती राम्रो हुँदै गयो । व्यापक रूपमा विस्तार पनि गरियो । मेवाको उत्पादन बढेपछि यसको जुस उत्पादन गर्ने सोच समूहमा आयो । सोही सोच अनुसार जुस उत्पादन थालेका छौँ ।” गाउँ घरमा फलेका मेवा लगायत अन्य फलफूलको जुस उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य टिएमजी एग्रो कृषक समूहको रहेको उहाँले बताउनुभयो । 

मेवा खेतीको विस्तार गरिरहेको टियमजि एग्रो कृषक समूहले १५० रोपनी भन्दा बढी क्षेत्रमा मेवा खेती विस्तार गरिसकेको छ । अहिले बगैँचामा रहेका आठ हजार बोटमा रहर लाग्दा मेवा फलेका छन् । मेवा खेतीमा ५० लाख भन्दा बढी लगानी भइसकेको र हालसम्म ३६ लाख रुपैयाँको मेवा बिक्री भएको उहाँले बताउनुभयो । 

यो समूहको कृषि कर्मले यति बेला जिल्लासम्म चर्चा पाएको छ । मेवा सबैले रुचाउने फल भएकाले बजारको खासै समस्या पनि छैन । रोपेको ५० दिनदेखि फल लाग्न थाल्ने मेवाले ७ महिनामा उत्पादन दिन्छ । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने तामाङले बताउनुभयो । मेवा बगैँचामा पुग्नेले प्रतिकेजी ५० देखि ६० रुपैयाँमा मेवा पाउँछन् । बगैँचाबाट बजारमा पुगेको मेवाले प्रतिकेजी १५० सम्म मूल्य पाएको तामाङले बताउनुभयो ।