शशिधर पराजुली
विराटनगर, असार ३० गते । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गाई मरेका हुन् भने तीन ओटा अरू पशु मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोसी प्रदेशले जानकारी दिएको छ ।
लम्पीस्किनबाट यस पटक गाईका साना बाछाबाछीहरू बढी प्रभावित भएको पाइएको छ । यस वर्ष सङ्क्रमण सुरु भएपछि ३३६ पशुको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये ३३० ओटा गाई मरेका हुन् ।
यो हप्ता मात्र कोसी प्रदेशका १० जिल्लामा ३ हजार ७७८ पशुमा लम्पीस्किनको सङ्क्रमण देखिएको थियो । सङ्क्रमण सुरु भएको दुई महिनाको अवधिमा १६ हजार ५१९ पशु सङ्क्रमित भइसकेका छन् । जसमा १३६ ओटा भैँसीमा सङ्क्रमण देखिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका निर्देशक डा. सुशिलकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले माउ गाईमा भने यस पटकको सङ्क्रमण कम देखिएको र बाछाबाछीमा बढी सङ्क्रमण देखिएको बताउनुभयो ।
कोसी प्रदेशमा सोलुखुम्बु, ओखलढुङ्गा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा लम्पीस्किनको सङ्क्रमण फेला परेको छैन । बाँकी १० जिल्लामा रोगका सङ्क्रमण फैलिएको छ । त्यसमध्ये झापामा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ ।
प्राप्त तथ्याङ्क अनुसार झापा जिल्लामा ४ हजार २४ पशुमा सङ्क्रमण देखिएको छ । यसमध्ये ३ हजार ९९९ गाई र २५ भैँसी छन् । झापामा यस रोगका कारण ११२ पशुको मृत्यु भएको छ, जसमा १०५ गाई र ७ भैँसी छन् । सङ्क्रमण नियन्त्रणका लागि झापामा ८ हजार ३८५ पशुमा खोप लगाइएको छ ।
सुनसरी जिल्लामा ४ हजार सङ्क्रमित पशुहरू छन् । यसमध्ये ३ हजार ९८४ गाई र १६ भैँसी छन् । सुनसरीमा ७१ पशुको मृत्यु भएको छ, जसमा ६८ गाई र ३ भैँसी छन् । सुनसरीका ११ हजार ४८१ पशुमा खोप लगाइएको छ ।
मोरङ जिल्लामा ३ हजार ७१६ पशुमा सङ्क्रमण देखिएको छ । जसमध्ये ३ हजार ७०४ गाई र १२ भैँसी छन् । मोरङमा ६४ पशुको मृत्यु भएको छ, जसमा ६३ गाई र एउटा भैँसी रहेको छ । मोरङमा११ हजार ६०४ पशुमा खोप लगाइएको छ ।
न्यूनतम सङ्क्रमण भएका जिल्लाहरूमा उदयपुरमा ४२५ पशुमा सङ्क्रमण देखिएको छ । यसमध्ये ४१० गाई र १५ भैँसी छन् । उदयपुरमा ८ पशुको मृत्यु भएको छ र ४ हजार ४४७ पशुमा खोप लगाइएको छ । इलाम जिल्लामा ३९६ पशुमा सङ्क्रमण देखिएको छ, जसमा ३८१ गाई र १५ भैँसी छन् । इलाममा ५ पशुको मृत्यु भएको छ भने ५ हजार ३७६ पशुमा खोप लगाइएको छ । भोजपुरमा ३७६ पशुमा सङ्क्रमण देखिएको छ, जसमध्ये ३७५ गाई र एउटा भैँसीमा सङ्क्रमण भेटिएको छ । भोजपुरमा ७ पशुको मृत्यु भएको छ र ३ हजार २५७ पशुमा खोप लगाइएको छ ।
यस हप्ता कोसी प्रदेशमा ५६ हजार ७१ पशुमा लम्पीस्किनविरुद्ध खोप लगाएर रोगको सङ्क्रमण नियन्त्रण गर्ने प्रयत्न सरकारले गरेको छ । यस वर्ष कोसी प्रदेशका २ लाख ६२ हजार ६०९ पशुमा खोप लगाइएको निर्देशक अधिकारीले जानकारी दिनुभयो ।
तराई क्षेत्रका जिल्लाहरूमा सङ्क्रमण बढी देखिएको छ भने पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा कम सङ्क्रमण देखिएको छ । विशेष गरी बाछाबाछीहरूमा यस रोगको प्रभाव बढी देखिएकाले पशुपालकहरुले विशेष सावधानी अपनाउनुपर्ने निर्देशनालयले सुझाव दिएका छन् ।