• २० जेठ २०८२, मङ्गलबार

पर्यटन सम्भावना बोकेको गढी दरबार (फोटो फिचर)

blog

मकवानपुर गढी दरबार । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ १८  गते । बागमती प्रदेशको राजधानी हेटौँडाबाट १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै रहेको ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण मकवानपुर गढी दरबार पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । 

अध्ययन, अवलोकन, शैक्षिक भ्रमण र आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको हो । मकवानपुरसहित छिमेकी जिल्ला चितवन, काठमाडौँ, पोखरा, बारा, रौतहट, सिन्धुलीका अधिकांश क्षेत्रबाट यहाँ आन्तरिक पर्यटक भ्रमणमा आउने गर्नुभएको छ । 

ऐतिहासिक महत्त्वको मकवानपुर गढी दरबार पर्यापर्यटनको क्षेत्रमा पनि उत्कृष्ट रहेको छ । अग्लो भागमा अवस्थित गढी दरबार वरपरको मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्छ भने यहाँको महत्त्वले पुरातात्विक विशेषतालाई झल्काउने गरेको छ । 

मकवानपुर गढी गाउँपालिका –२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले सांसददेखि जनप्रतिनिधि र अध्ययन अवलोकन, शैक्षिक भ्रमण, सहकारीको भ्रमणका लागि यहाँ आन्तरिक पर्यटक आउने गरेको जानकारी दिनुभयो । प्रदेशको राजधानीनजिक रहेको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले प्रदेशका प्रायः सबै जिल्लाका पर्यटक यहाँ आउने गर्नुभएको उहाँको भनाइ छ । 

नयाँ वर्ष, कृष्ण जन्माष्टमी, फागु पूर्णिमा र एकादशी मेला पर्वको बेलामा दैनिक ७ हजारसम्म आन्तरिक पर्यटकले भ्रमण गर्ने गर्नुभएको छ । पुरातात्विक विभागले दरबार किल्ला क्षेत्रको जीर्णोद्वार, छाना हाल्ने काम, मिनी म्युजियमको रूपमा विकास गर्ने लगायतको भित्री काम भइरहेको छ । स्थानीय सरकारको समन्वयमा बाहिरी क्षेत्रमा फूलबारी बनाउने, भर्‍याङ निर्माण गर्ने, वनभोज खाने ठाउँ बनाउने लगायतको काम भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार पनि मकवानपुर गढी दरबारको संरक्षणमा लागेको उहाँले बताउनुभयो । समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित ऐतिहासिक, पुरातात्विक महत्त्व बोकेको ठाउँमा घुम्न र यहाँको विषय सबै नेपालीले थाहा पाउनुपर्ने बताउँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि यहाँ भ्रमण गर्न आग्रह गर्नुभएको छ । 

मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।

मकवानपुर गढीभित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोर–दोहोर गर्थे भन्ने यहाँका पुजारी डम्बरप्रसाद घिमिरेको भनाइ छ । त्यस समयमा चितवनमा तोरीखेती हुन्थ्यो । उहाँ त्यहाँसम्म पुगेर आउनुहुन्थ्यो । 

कृष्ण राति बाहिर जाने र बिहान मात्र फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उहाँलाई गाउँलेले बाँधेर राखेको किम्बदन्ती रहेको पुजारीले जानकारी दिनुभयो । सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेनकै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाइ शासन गरेका थिए ।

मकवानपुर गढी राजा तुलासेनको राज्यकालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठुलो गढी, सानो गढी र ढुङ्गे गढी । ठुलो गढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू छन् भने ठुलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमी उत्तरपूर्वमा ढुङ्गे गढी छन् । मकवानपुर गढीले एकीकरण अभियानलाई साकार पार्न तथा विदेशी सेनालाई धपाइ देशलाई जोगाउन तथा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

मकवानपुरमा मकवानपुर गढी दरबार, ढुङ्गे गढी, बकैयामा अम्वास गढी, भिमफेदीमा चिसापानी गढी, थाहा नगरपालिकामा पालुङ गढी, टिष्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी रहेको मकवानपुर गढी पर्यटन विकास समन्वय समितिका अध्यक्ष केदारप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले सबै गढीको खोज अनुसन्धान र पुरातात्विक महत्वको संरक्षण गर्दै पर्यटन प्रवर्धन हुनुपर्नेमा जोड दिनुभयो ।