राजन रावत
हुम्ला, जेठ १८ गते । साक्षर घोषित भएको हुम्लाका सात वटै गाउँपालिकामा गरी एक हजार चार सय जनसङ्ख्या अझै निरक्षर रहेको पाइएको छ । राष्ट्रिय साक्षरता सम्बन्धी मापदण्ड २०७६ अनुसार ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई साक्षर घोषित गर्न सकिने भएपछि केही जनसङ्ख्या निरक्षर भए पनि घोषणा गरिएको हो ।
पन्ध्र वर्ष माथि र ५९ वर्ष मुनिका जिल्लावासी एक हजार चार सय जना निरक्षर रहेको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले आफ्नो प्रतिवेदनमा देखाएको छ । जिल्लामा ९६ दशमलव ०४ प्रतिशत जिल्लावासी साक्षर रहनु भएको छ । यो जनसङ्ख्या तीन दशमलव ९६ प्रतिशत निरक्षर छ ।
उक्त उमेर समूहका ३५ हजार ३५४ जनसङ्ख्या मध्य ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको एकाइ प्रमुख योगेश आले मगरले बताउनुभयो । गाउँपालिका अनुसार निरक्षर जनसङ्ख्या यस्तो रहेको छ । नाम्खा गाउँपालिकामा १११ जना, सिमकोटमा ३७१ जना, खार्पुनाथमा २९४, सर्केगार्डमा ३१४, चङ्खेलीमा १९२ जना, अदानचुलीमा १९२ र सबै भन्दा कम ताँजाकोट गाउँपालिकामा ६६ जना निरक्षर रहेको प्रतिवेदनले देखाएको छ ।
यी गाउँपालिकामा निर्धारित उमेर समूहको जम्मा जनसङ्ख्या र साक्षर जनसङ्ख्या भने यस्तो रहेको छ । नाम्खामा जम्मा दुई हजार ८८९ रहेकोमा त्यसमा दुई हजार ७७८ जनसङ्ख्या साक्षर रहेको छ । त्यस्तै सिमकोटमा जम्मा आठ हजार ४४३ रहेकोमा आठ हजार ७२ जनसङ्ख्या साक्षर रहेको छ । यता खार्पुनाथमा चार हजार ३२१ मा चार हजार १३४ साक्षर जनसङ्ख्या रहेको छ । त्यस्तै सर्केगार्डमा सात हजार ४३८ मा साक्षर जनसङ्ख्या सात हजार १२४ रहेको छ । चङ्खेलीमा चार हजार ५६ मा तीन हजार ८६४ जनसङ्ख्या साक्षर छ ।
अदानचुलीमा चार हजार ३९९ जनसङ्ख्यामा चार हजार २०७ जनसङ्ख्या साक्षर रहेको छ भने ताँजाकोट गाउँपालिकामा ती हजार ८४१ जनसङ्ख्यामा तीन हजार ७७५ जनसङ्ख्या साक्षर रहेको छ । यसअघि सबै भन्दा पहिले खार्पुनाथ गाउँपालिकालाई २०७९ सालको असार ३१ गते ९५ दशमलव पाँच प्रतिशत जनसङ्ख्या साक्षर भएपछि पहिलो गाउँपालिका घोषित गरिएको थियो । त्यसपछि २०८० वैशाख २५ गते ९५ दशमलव छ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि दोस्रो गाउँपालिकाका रूपमा सिमकोट गाउँपालिकालाई घोषणा गरिएको थियो ।
त्यसैगरी २०८० असार २५ गते ९५ दशमलव ७४ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि सर्केगार्ड, सोही वर्षको असा २७ गते ९८ दशमलव २८ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि ताँजाकोट गाउँपालिका, असार २८ गते ९५ दशमलव ६४ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि अदानचुली , २९ गते ९५ दहमलव २४ प्रतिशत साक्षर जनसङ्ख्या भएपछि चङ्खेली गाउँपालिका २०८१ फागुन २७ गते ९६ दशमलव १६ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि नाम्खा गाउँपालिकालाई घोषणा गरिएको थियो ।