• १७ असार २०८२, मङ्गलबार

चौध टन प्रशोधित अदुवा जर्मनी निर्यात

blog

अदुवा प्रशोधन गर्दै महिला । तस्बिर : इमानसिंह राना

रामपुर समाचारदाता

रामपुर (पाल्पा), असार १७ गते । गल्धा सामाजिक उद्यमी महिला सहकारीले साढे १४ टन प्रशोधित अदुवा जर्मनी निर्यात गरेको छ । तीन वर्षदेखि अदुवा निर्यात गर्दै आएको सहकारीले यस वर्ष १४ हजार ५६० किलोग्राम सुकेको अदुवाको चाना निकासी गरेको हो ।

सहकारीका व्यवस्थापक डिलमाया सारूले प्रतिकेजी ४९३ रुपियाँ ९० पैसाको दरले ७१ लाख ९१ हजार १८४ रुपियाँ बराबरको प्रशोधित अदुवा निर्यात गरिएको जानकारी दिनुभयो । निस्दी गाउँपालिका–५, गल्धाका २७२ कृषकले उत्पादन गरेको अदुवा अर्गानिक प्रमाणित गरेर प्रशोधन गरी अकिस्टा नेपालसँगको साझेदारीमा जर्मनी पठाएको हो । प्रशोधनका लागि सहकारीले ५६ लाख दुई हजार ३८० बराबरको अदुवा प्रतिकेजी ६० रुपियाँमा ९३ हजार ३७३ केजी अदुवा खरिद गरेको थियो । 

सहकारीले यस वर्ष जुस प्रयोजनका लागि आठ हजार ६९० केजी काँचो अदुवासमेत निर्यात गरेको छ । उहाँले भन्नुभयो, “जुसका लागि २० हजार केजी काँचो अदुवासँगै प्रशोधित सुकेको चानाको माग आए पनि माग अनुसार पूरा गर्न सकिएन ।” 

सहकारीले ४२ रोपनीमा बोसे अदुवा लगाएको थियो । सहकारीका अध्यक्ष अममाया मश्राङ्गीले अदुवा राम्रो नफलेको र अर्गानिक प्रमाणित भएको अदुवा कम भएकाले मागभन्दा कम निकासी भएको बताउनुभयो । अदुवा प्रशोधन गरी युरोप निर्यात हुन थालेपछि कृषक उत्साहित भएको उहाँको भनाइ छ । 

उहाँले जर्मनीको सेरेस कम्पनीले किसानसम्म पुगेर अर्गानिक प्रमाणित गरेपछि मात्र अदुवा जर्मनी निकासी गर्दै आएको बताउनुभयो । गल्धामा अहिले नौ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुँदै आएको छ । कृषकलाई अदुवा लगाउनदेखि प्रशोधन गर्नसम्म हेफर इन्टरनेसनल नेपालले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।  सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री जुटाएर सहकारीले अदुवा प्रशोधन गर्दै आएको छ ।