जमुनाह समाचारदाता
जमुनाह, असार १६ गते । धान रोपाइँको सिजन सुरु भइसकेको छ तर अझै पनि धेरै किसानलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने थाहा छैन । माटो परीक्षण नगरी रोपाइँ गर्दा न त मलको मात्रा मिल्छ न त उत्पादनको भर हुन्छ ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिकालगायतका क्षेत्रमा सञ्चालनमा आएका माटो परीक्षण शिविरले पछिल्लो समय किसानमा विज्ञानमा आधारित खेती गर्ने सोच बढाएको छ । परीक्षणबाट माटोको पिएच स्तर, नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रा, सूक्ष्म पोषक तत्वको अवस्था र कार्बनिक पदार्थको अनुपात थाहा पाइन्छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद अधिकारीका अनुसार माटोको अत्यधिक अम्लीयपन, पोषक तत्वको असन्तुलनले गर्दा बालीमा रोग लाग्ने, बिरुवा कमजोर हुने, फल नलाग्ने समस्या बढ्दो छ । माटो जाँच गरेर आवश्यक मल, चुना वा जैविक सुधारात्मक उपाय अपनाएमा खेती सुधारिन सक्छ ।
खजुरास्थित माटो तथा मल परीक्षण प्रयोगशालाका प्राविधिक खेमबहादुर केसीका अनुसार लुम्बिनी प्रदेशभर जम्मा २० प्रतिशतले मात्र माटो परीक्षण गराएका छन् ।
स्थानीय किसानमा चेतना भने विस्तार हुँदै छ । “पहिला त हामी माटोको कुरा सोच्दैनथ्यौँ,” कोहलपुरका किसान रमेश चौधरी भन्नुहुन्छ, “मेरो माटो मा अम्लीय पदार्थ धेरै रहेछ उब्जनी पनि राम्रोसँग हुँदैन्थ्यो तर गत वर्ष परीक्षण गराएँ, अहिले उही खेतबाट पहिलेभन्दा चार/पाँच मुरी बढी धान फल्न थाल्यो ।” खजुरा गाउँपालिका–२ का किसान लालबहादुर खत्रीले पनि गत वर्ष आफ्नो खेतको माटो परीक्षण गराउनुभएको थियो । लुम्बिनी प्रदेश सरकारले किसानलाई माटो परीक्षण खेतीको अनिवार्य सुरुवात हो भन्ने सन्देश फैलाउने उद्देश्यले विभिन्न स्थानमा शिविर सञ्चालन गरिरहेको छ ।