• २० जेठ २०८२, मङ्गलबार

फिक्कलमा साकेला प्रदर्शनी

blog

प्रेम अधिकारी 

इलाम, जेठ १८ गते । इलामको सूर्योदय नगरपालिकामा बृहत् साकेला प्रदर्शनी गरिएको छ । उभौली पर्वको अवसरमा किरात राई यायोख्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा सम्पन्न साकेला कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका किरात समुदायका विभिन्न संस्था तथा समुदायले साकेला प्रदर्शन गरेका हुन । 

यलेदोङ सम्बत ५०८५ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा हजारौँको सङ्ख्यामा उपस्थित भई किराती समुदायले विभिन्न सिली प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष गौरव चाम्लिङ राईले जानकारी दिनु भयो । किराती समुदायको भाषा, लिपि ,संस्कार संस्कृतिको संरक्षण गर्ने , युवामाझ आफ्नो भाषा ,संस्कार प्रति आकर्षण बढाउने , किराती समुदाय बिच एकताको भावना जगाउने लगायत  उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको आयोजक समितिका आर्थिक समिति संयोजक जय राईले बताउनु भयो ।


कार्यक्रममा नगरप्रमुख रण बहादुर राईले किराँती समुदायको संस्कार, संस्कृति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्न  सबै एकता बद्ध भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले किराँती समुदायको भाषा, लिपि ,संस्कार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेकाले अग्रजबाट आफूमा लिने र आफूबाट भावी पुस्ता सम्म पुराउन युवाहरू जुट्नुपर्ने बताउनु भयो ।


आयोजक समितिका अध्यक्ष गौरव चाम्लिङ राईले किराँती समुदाय बिचको  एकता र भाषा ,लिपि ,संस्कार र संस्कृतिको संरक्षणको अभियानमा सबैलाई जोड्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।  कार्यक्रममा नगर प्रमुख  राई सहित जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइली सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बराल ,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजन मुकारुङ, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई लगायतको उपस्थिति रहेको  थियो ।