• ६ वैशाख २०८२, शनिबार

वन्यजन्तु संरक्षणकोे राष्ट्रिय दायित्व

blog

वन्यजन्तु आहारा, पानीको खोजी र शत्रुबाट बच्न मौसम अनुसार बसाइँ सर्ने गर्छन् । संरक्षित क्षेत्रभन्दा बाहिरको वनमा वन्यजन्तु संरक्षणको कामले प्राथमिकता नपाउने हुँदा वन्यजन्तुको चोरीसिकार बढेको छ । संरक्षित क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ र संरक्षित क्षेत्र घना मानवबस्तीले घेरिँदै गएका छन् ।

नेपाल विश्व मानचित्रमा ०.१ प्रतिशत भूभाग ओगटेको सानो मुलुक भए पनि इन्डो मलायन र प्यालियाट्रिक जैविक भूमण्डलीय क्षेत्रको दोसाँधमा पर्ने हुँदा परापूर्वकालदेखि नै वन्यजन्तुका लागि प्रसिद्ध थियो । मल्लकालमा नेपालबाट मह, कस्तूरी र जडीबुटीको निकासी गरिन्थ्यो । पृथ्वीनारायण शाहको दिव्योपदेशमा आफ्ना देशका सामान, जडीबुटी विदेश लगेर नगद ल्याउनू “आफ्ना देसको जिनिस्, जरिवुटि देस लैजानु र नगद षैचनु” भन्ने रहेको छ । नेपालमा स्तनधारी वन्यजन्तुका २०८ प्रजाति, चराका ८९० प्रजाति, सर्पका १२३ प्रजाति, उभयचरका ५५ प्रजाति, माछाका २३० प्रजाति, पुतलीका करिब ६५१ प्रजाति र फूल फुल्ने वनस्पतिका करिब ६,९७३ प्रजाति अभिलेख गरिएको छ । 

वन्यजन्तु अन्र्तगत स–साना कीटपतङ्गदेखि हात्ती जस्ता ठुला जनावर पर्छन् । सबै वन्यजन्तुको आ–आफ्नै पारिस्थितिकीय, आर्थिक, पर्यटकीय, वैज्ञानिक, धार्मिक तथा सांस्कृतिक महŒव छ । विश्वको खाद्य सुरक्षामा स–साना कीटपतङ्गको ठुलो योगदान छ । तिनले बालीनालीमा परागशेचन गरी वातावरणीय सेवा प्रदान गरेका छन् । वन्यजन्तु वंशाणु स्रोतका भण्डार हुन् । जैविक प्रविधिको माध्यमबाट मानव उपयोगी वंशाणु स्रोतको खोजी गरी घरपालुवा पशुपक्षीको नश्ल सुधार गर्न सकिन्छ । नेपालमा विश्वमै दुर्लभ बाघ, गैँडा, हात्ती, गौरीगाई जस्ता वन्यजन्तु पाइन्छन् । विश्वभर वन्यजन्तु पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको हुँदा नेपाललाई वन्यजन्तु पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बनाउन सकिने सम्भावना रहेको छ । धार्मिक दृष्टिकोणबाट हेर्दा वन्यजन्तु हिन्दु धर्मका विभिन्न देवीदेवतासँग जोडिएका छन् भने वन्यजन्तुका कारण राष्ट्रको प्रतिष्ठासमेत बढ्ने गरेको छ । 

नेपाल र बेलायतबिचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन वन्यजन्तुले पु¥याएको योगदान नेपालको इतिहासमा अविस्मरणीय छ । सन् १९२१ मा बेलायतका राजा जर्ज पाँचौँ नेपालमा ठोरीको जङ्गलमा एक महिना सिकार खेल्न आएका थिए । त्यस समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले उनलाई खुसी बनाएको हुँदा बेलायतले नेपाललाई सन् १९२३ मा सार्वभौमसत्ता सम्पन्न मुलुकको मान्यता दिएको थियो । यसरी सिकार कूटनीतिको माध्यमबाट नेपालले लाभ लिन सकेको थियो । 

नेपालमा विधिसम्मत रूपमा वन्यजन्तु संरक्षणको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ लागु गरेपछि भएको हो । यो ऐनले दिएको अधिकार प्रयोग गरी अहिले नेपालमा बाह्र वटा राष्ट्रिय निकुञ्ज, दुई वटा आरक्ष र छ वटा संरक्षण क्षेत्र स्थापना गरिएको छ । यीमध्ये सोह्र वटा संरक्षित क्षेत्र नेपाल सरकारबाट, अन्नपूर्ण, मनासलु र गौरीशङ्कर संरक्षण क्षेत्र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट र कञ्चङजङ्घा संरक्षण क्षेत्र स्थानीय समुदायबाट व्यवस्थापन गरिएको छ । नेपालका चौध वटा निकुञ्ज, आरक्षको सुरक्षा नेपाली सेनाले गरेको छ । 

वन्यजन्तु संरक्षणका लागि मूल कानुनका रूपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ छ भने त्यस अन्तर्गत विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, रणनीति र मापदण्ड बनेका छन् । वन्यजन्तु संरक्षणमा सहयोग पु¥याउने अन्य ऐनमा राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन–२०३९, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३, वन ऐन–२०७६ र वातावरण संरक्षण ऐन–२०७६ रहेका छन् । वन्यजन्तु संरक्षणको काममा सबै सरोकारवालाको सहभागिता जुटाउन राष्ट्रिय बाघ संरक्षण समिति नेपालको गठन गर्ने कानुनी व्यवस्था गरिएको छ भने वन्यजन्तु अपराध नियन्त्रण आदेश–२०८० जारी गरिएको छ । 

नेपालमा कुनै संस्था, निकाय वा स्थानीय तहले चिडियाखाना सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ भने व्यक्ति वा संस्थाले व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन र उपयोग गर्न सकिने कानुनी व्यवस्थासमेत गरिएको छ । नेपालको संविधानले वन्यजन्तु संरक्षणको कामलाई सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा राखेको छ । प्रदेश र स्थानीय तहले समेत वन ऐन–२०७६ को अधिनमा रहेर वनसम्बन्धी आ–आफ्ना कानुन बनाएका छन् । प्रदेश र स्थानीय तहको संस्थागत क्षमता कमजोर रहेकाले वन्यजन्तु संरक्षणको कामले प्राथमिकता पाउन सकेको छैन ।

अहिले नेपालको कुल भूभागको ४४.७४ प्रतिशत अर्थात् ६६ लाख हेक्टर वन क्षेत्र रहेकाले वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ । कुल वन क्षेत्रमध्ये १८ प्रतिशत अर्थात् बाह्र लाख हेक्टर वन क्षेत्र संरक्षित क्षेत्रभित्र पर्छ भने संरक्षित क्षेत्रबाहिर ५४ लाख हेक्टर वन रहेको छ । चितुवा, सालक र रेडपान्डा संरक्षित क्षेत्रभित्रभन्दा बाहिरको वनमा धेरै रहेका छन् । हात्तीको अधिकांश विचरण क्षेत्र संरक्षित क्षेत्रबाहिरको वनमा रहेको छ । हात्तीको संरक्षणका लागि भूपरिधि स्तरमा वन्यजन्तु संरक्षणका काम गर्नुपर्ने हुन्छ । 

वन्यजन्तु आहारा, पानीको खोजी र शत्रुबाट बच्न मौसम अनुसार बसाइँ सर्ने गर्छन् । संरक्षित क्षेत्रभन्दा बाहिरको वनमा वन्यजन्तु संरक्षणको कामले प्राथमिकता नपाउने हुँदा वन्यजन्तुको चोरीसिकार बढेको छ । संरक्षित क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ र संरक्षित क्षेत्र घना मानव बस्तीले घेरिँदै गएका छन् । यसरी मध्यवर्ती क्षेत्रको भू–उपयोगमा परिवर्तन आएसँगै त्यहाँका जैविक मार्ग टुट्दै गएका गएका छन् र मानव वन्यजन्तु द्वन्द्व बढेको छ । अत्यधिक दोहन र प्रदूषणका कारण सिमसार क्षेत्रको उत्पादकत्व भने घटेको छ । 

वन्यजन्तु संरक्षण कठिन कार्य हो । अहिले वन्यजन्तु संरक्षणमा देखापरेका मुख्य चुनौती वन्यजन्तुको चोरीसिकार, बढ्दो अप्राकृतिक मृत्युदर, वन डढेलो, सिमसार क्षेत्रको विनाश, मानव वन्यजन्तु द्वन्द्व, विकास र वातावरणबिच सन्तुलन कायम राख्न नसक्नु एवं तीन तहका सरकारबिच समन्वय र सहकार्यको अभाव रहेको छ । यस्ता चुनौतीसँग जुध्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध हेर्ने जिम्मेवारी तोकिएको छ भने भौतिक पूर्वाधारका कारण हुने गरेको वन्यजन्तुको अप्राकृतिक मृत्युदरलाई घटाउन वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८ लागु गरिएको छ । 

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी वन्यजन्तु संरक्षणको कामलाई सहज र द्वन्द्वमुक्त वनाउन मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यव्रmम लागु गरिएको छ । यस कार्यव्रmममार्फत सम्बन्धित निकुञ्ज, आरक्षले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशत रकम वन्यजन्तु प्रभावित क्षेत्रमा सामुदायिक विकासका काममा खर्च गरिँदै आइएको छ । यसका अलावा नेपाल सरकारले छुट्टै बजेट व्यवस्था गरी बाघ, भालु, गैँडा, हात्तीलगायतका सोह्र वटा वन्यजन्तुले मानिस, पशुधन र बालीनालीमा क्षति पु¥याएमा त्यसबापत राहत सहयोग प्रदान गरिएको छ । 

संरक्षण शिक्षाबाट वन्यजन्तु संरक्षणमा ठुलो योगदान पुगेको हुन्छ । अहिले सञ्चालन गर्दै आएको संरक्षण शिक्षा कार्यव्रmम प्रभावकारी हुन नसक्दा सर्वसाधारण जनतालाई कुन वन्यजन्तुको कसरी उद्धार गर्ने भन्ने आधारभूत ज्ञानको कमी छ । त्यसले गर्दा मृग प्रजातिको उद्धार कार्य प्रभावकारी हुन सकेको छैन । अहिले वनबाट गाउँघर र खेतबारीमा निस्केका रतुवा मृग, चित्तललाई पव्रmेर सुरक्षित वासस्थानमा छाड्ने गरिएको छ । यसरी छाडेका मृगमध्ये तुरुन्तै छाडेकाबाहेक अरू सबै मृग मर्ने गरेका छन् । मृग प्रजातिमा क्याप्चर मायोपेथी भनिने हृदयाघातको समस्या अत्यधिक बढी हुने गर्छ । त्यसले गर्दा कुनै घाउ, चोटपटक नलागेका मृग पनि लामो समयसम्म मानिसको सम्पर्कमा राखेमा हृदयाघातका कारण मर्ने गर्छन् ।

नेपालले चोरीसिकार र वन्यजन्तुको आखेटोपहार ओसारपसारमा संलग्न व्यक्तिलाई पव्रmाउ गरी कडा कानुनी कारबाही गर्दै आएको छ । वन्यजन्तुको जीवविज्ञानका बारेमा चाहे अनुरूपको अनुसन्धान गर्न सकेको छैन । यसको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष नामको गैरसरकारी संस्थालाई दिइएको छ । यस संस्थाले एकाध वन्यजन्तुबाहेक अन्य वन्यजन्तुको विद्यमान अवस्था के कस्तो छ भन्ने विषयमा अध्ययन नगरेको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को अनुसूची १ मा रहेका संरक्षित वन्यजन्तुको सूचीलाई ५० वर्ष बितिसक्दा पनि परिमार्जन गर्न सकिएको छैन । पर्याप्त अध्ययनको अभावमा सङ्कटापन्न अवस्थामा पुगेका ओत, मलाहा बिरालो, थार, चितुवा जस्ता स्तनधारी वन्यजन्तु, डङ्गर गिद्ध र सानो खैरो गिद्ध जस्ता पक्षी, कछुवा जस्ता सरिसृप र पाहा जस्ता उभयचरलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गर्न सकिएको छैन । फलस्वरूप व्यापारिक महŒव भएका चितुवा जस्ता वन्यजन्तुका चोरीसिकार सामान्य दण्ड जरिबाना तिरेर सजिलै उम्कने गरेका छन् । जलवायु परिवर्तनले वन्यजन्तु संरक्षणमा कस्तो असर पार्न सक्छ भन्ने विषयमा अध्ययन भएको छैन । साथै परस्थानीय र वंशाणु परिवर्तन गरेका जीवजन्तु, वनस्पतिबाट रैथाने वन्यजन्तुलाई जोगाइराख्न अवलम्बन गर्नुपर्ने जैविक सुरक्षाका उपायबारेमा अध्ययन अभाव छ ।

अन्त्यमा, वन्यजन्तु हाम्रा राष्ट्रिय सम्पत्ति हुन् र यिनको संरक्षण गर्नु हाम्रो राष्ट्रिय दायित्व हो । नेपालले वन्यजन्तुको दिगो उपयोगमार्फत हरित् अर्थतन्त्रको निर्माण गर्न सक्ने अथाह सम्भावना रहेको छ । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तिनै तह एवं वन समूह, निजी र सहकारी क्षेत्रबिचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याएर समृद्धि हासिल गर्ने योजना तर्जुमा गर्नु पर्छ । 

Author

पशुपति अधिकारी