सिराज खान
नेपालगन्ज, चैत २८ गते । बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भिषण हावाहुरीले धेरै ठाउँका बिद्युत पोलहरु ढालेर क्षतिग्रस्त बनाएकोले बुधवार रातीबाटै नेपालगन्ज लगायत जिल्लाका बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका पोल र तारहरु ढालेर क्षति पुर्याउँदा विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले बुधवार रातीबाटै बिहिबार विहानसम्म हावाहुरीसंगै बर्षासमेत भएकोले राती काम गर्न नसकिएकोले मर्मत सम्भार र बिद्युत सुचारु गर्न नसकिएको बताउनुभयो ।
हावाहुरीका कारण कोहलपुर नेपालगन्ज डबल सर्किट ३३ केभीको मेनलाइनका केही पोलहरु ढलेर क्षतिग्रस्त भएको तथा केही क्य्राक भएको तथा टावरहरुमा समेत क्षति पुगेकोले सो मर्मत सम्भारको काम शुरु गरिएको वितरण केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो । उहाँले अझैपनि प्राविधिक टोली फल्ट खोज्नमै लागेकोले पहिले फल्टहरु खोजेर फेरी मर्मत गरिने बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार नेपालगन्ज कोहलपुर मेन लाइनमा तीन, डुडुवा गाउँपालिकामा पाँच, खजुरामा एक र नरैनापुरमा एक तथा नेपालगन्ज बजार भित्र चार वटा पोलहरु ढलेर क्षतिग्रस्त भएको जानकारी आएको छ । बितरण केन्द्रबाट प्राविधिकहरुको टोलीलाई परिचालन गरेर ढलेका पोलहरुको मर्मत सम्भारमा खटाईएको जनाइएको छ ।
विहिबार विहान फेरी हावाहुरी आएको र वर्षा समेत भएकोले क्षतिको खोजी र मर्मत सम्भारको कार्य पनि अवरुद्ध हुन जाँदा बिद्युत सुचारु गर्न नसकिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । अहिले फल्ट खोजीसंगै मर्मतसम्भार र चुडिएका तार जोड्ने कार्य तिव्र गतिमा भइरहेकोले नेपालगन्ज बजारको विद्युत छिटैसुचारु हुने नेपालगन्ज बितरण केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो ।
उता, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा क्षति हुँदा जिल्ला जिल्लामा बिद्युत अवरुद्ध भएको र क्षति संकलन तथा मर्मतको काम भइरहेको जनाएको छ।