• ५ वैशाख २०८२, शुक्रबार

नसर्ने रोगका बिरामी बढ्दै

blog

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), चैत २७ गते । बागलुङमा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढेको पाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार ब्लड प्रेसर, उच्च रक्तचाप र मिर्गौला रोगका बिरामी गतवर्षको तुलनामा यस वर्ष बढेको पाइएको हो ।

परीक्षणको दायरा बढाउँदा बिरामीको सङ्ख्या बढ्दो देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी तथा क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । सरकारले फागुन महिनामा नसर्ने रोगको स्क्रिनिङ अभियान सञ्चालन गरेको थियो । उक्त महिना बागलुङका स्थानीय तहमा परीक्षणको दायरा बढाउँदा बिरामीको सङ्ख्यामा वृद्धि देखिएको हो ।

सूचना अधिकारी घिमिरेका अनुसार फागुन महिनामा आठ हजार एक सय चार जनाको स्क्रिनिङ गर्दा एक हजार पाँच सय १४ जनालाई उच्च रक्तचाप, पाँच सय ३० जनालाई मधुमेह, एक सय ९ जनालाई मिर्गौलाको रोग र एक हजार दुई सय ६३ जनालाई मोटोपना देखिएको हो । उहाँले परीक्षणको दायरा बढाउँदा बिरामीको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । ‘सर्ने रोग भन्दा नसर्ने रोगका बिरामीहरूको सङ्ख्या बढ्दो छ,’ उहाँले भन्नुभयो, ‘परीक्षणको दर केही बढाउँदा जिल्लामा बिरामीको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । परीक्षण नहुँदा बिरामीहरू समुदायमै रहेका छन् ।’

फागुन महिनामा बागलुङका नौ स्थानीय तहमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ गरिएको थियो । अभियानमा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका, काठेखोला, बडिगाड, निसीखोला, तमानखोला र बरेङ गाउँपालिकामा स्क्रिनिङ गरिए पनि ताराखोला गाउँपालिका स्क्रिनिङ गरिएको थिएन । स्क्रिनिङमा फेला परेका एक हजार छ सय ९३ जना बिरामीको उपचार गरिएको र सात सय १० जनालाई थप उपचारका लागि अस्पताल जान सल्लाह दिइएको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

बागलुङमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन हजार एक सय ३७ जनालाई उच्च रक्तचाप, आठ सय एक जनालाई मधुमेह र चार सय ९७ जनालाई दमको रोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँले गतआर्थिक वर्ष २०८०-०८१ मा तीन हजार तीन सय नौ जनामा उच्च रक्तचाप, सात सय ८७ जनालाई मधुमेह र तीन सय दुई जनालाई दम रोग देखा परेको जानकारी दिनुभयो ।

सर्ने रोग भन्दा नसर्न रोग निकै जटिल हुने चिकित्सकहरूको भनाइ रहेको छ । पछिल्लो समय बागलुङमा निरन्तर रूपमा नसर्ने रोगका बिरामीको सङ्ख्या बढी रहेको छ । जिल्ला स्वास्थ्य कार्यलयका बागलुङले यस्ता नसर्ने रोग नियन्त्रण गर्नका लागी गाउँ–गाउँमा जनचेतना अभिवृद्धि गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

पछिल्लो समय बढ्दै गएको फरक जीवनशैलीका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले बताउनुभयो । ‘नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली र खानपान नै हो । जसमध्ये अत्यधिक धूम्रपान, मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन्,’ उहाँले भन्नुभयो, ‘अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायत रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।’

डा. तिवारीले नसर्ने रोग लाग्न नदिन खानपानमा ध्यान दिनुपर्ने र शारीरिक व्यायाम नियमित गर्नुपर्ने बताउनुभयो । ‘पहिले धेरै शारीरिक व्यायाम गर्ने, घरमा उत्पादन गरेका खानाहरू खाने गरेको कारण नसर्ने रोगका बिरामीहरू कम थिए,’ उहाँले भन्नुभयो,‘रोग लाग्न नदिन नियमित शारीरिक व्याम गर्नुपर्छ, नुन कम खाने, रातो मासु भन्दा माछा खाने गर्नुपर्छ ।’ डा. तिवारीले समय समयमा रगत परीक्षण गर्न र क्यान्सर रोग छभने स्क्रिनिङ गर्न सुझाव दिनुभयो ।