बागलुङ समाचारदाता
बागलुङ, चैत २७ गते । पश्चिम बागलुङको गलकोट नगरपालिकामा सघन सहरी विकास आयोजना सञ्चालनमा आएको छ । नगरका सहरी क्षेत्रलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, पूर्वाधारमा अब्बल र नगरको आफ्नै सहरी शासकीय क्षमता विकास गर्ने लक्ष्यसहित सघन सहरी विकास आयोजना सञ्चालनमा ल्याइएको हो ।
सघन सहरी तथा भवन डिभिजन आयोजनाको साझेदारीमा नगरपालिकाले ती काम गर्ने छ । पहिलो चरणमा आयोजना अन्तर्गत वडा नं. १, दुदिलाभाटी र वडा नं. २, नरेठाँटी जोड्ने सडकलाई व्यवस्थित र फराकिलो बनाइएको छ । चालु आर्थिक वर्षभित्रै दुदिलाभाटी–नरेठाँटी जोड्ने सडकलाई कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । त्यसबाहेक ऐतिहासिक गलकोट राज्यको नामबाट परिचित कोतघर जोड्ने सडक कालोपत्रे गर्ने, सहरी शासकीय क्षमता विकासका लागि वडा नं. ३, हटियाको भवन निर्माण र आयआर्जनका कार्यक्रम अन्तर्गत किसानका फार्म विस्तार, कृषि उपजको बजारीकरण र उत्पादन क्षमता बढाउन पहल गर्ने काम गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधारतर्फका धेरै काम चालु आवभित्रै सक्ने वागेश्वरी निर्माण कम्पनीले लक्ष्य बनाएको छ । भवन निर्माणको काम सकिन २०८२ को फागुनसम्मको समयसीमा निर्धारण गरिएको छ । गलकोटमा भवन निर्माण संहिता पालना गराउने, सडक मापदण्डलाई कायम गरेर भवन निर्माणको नक्सापास गराउन पहल गर्नेलगायतको काममा आयोजनाले साथ दिने महर्जनको भनाइ छ । नरेठाँटीदेखि दुदिलाभाटी जोड्ने सडक बन्दा किसानको कृषिउपजले सहजै बजार पाउने जनप्रतिनिधिको विश्वास छ । यो सडक बनिसक्दा वडा नं. १ को दुदिलाभाटी, भण्डारवनलगायतका बासिन्दाले सहजै हटियाबजार आउन पाउने छन् । यो क्षेत्रमा बाख्रापालन, तरकारी खेती, दुधलगायतका कृषि फसल उत्पादन हुने गरेका छन् ।
गलकोटलाई सहरी क्षेत्रका रूपमा विकास गर्दै व्यवस्थित सडक, ढल निकास, शासकीय क्षमता विकास गर्ने लक्ष्यले यो काम सुरु भएको आयोजनाका प्रमुख कृष्णकुमार महर्जनले बताउनुभयो । गलकोटमा पछिल्लो समय बस्ती विकासको लहर चलेको छ । त्यसबाहेक मध्यपहाडी लोकमार्ग, हटियादेखि ताराखोला हुँदै म्याग्दी जोड्ने रणनीतिक सडक, डाँडाखेतदेखि बरेङ गाउँपालिकाको सुखौरा हुँदै गुल्मी जिल्लाको शान्तिपुर जोड्ने सडक निर्माणाधीन अवस्थामा छन् ।