• २६ चैत २०८१, मङ्गलबार

अन्नपूर्ण चुचुरोमा एकै दिन पुगे ३२ आरोही

blog

अन्नपूर्णको चुचुरोमा मिग्मा शेर्पा । तस्बिर : सौजन्य मिग्मा शेर्पा

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, चैत २६ गते ।
अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा सोमबार वसन्तकालिन यामको सबैभन्दा धेरै आरोही पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको पाँच समहुका स्वदेशी र विदेशी गरी ३२ आरोहीले सफल आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेकबाट नौ जना, पायनियर एडभेन्चरबाट आठ जना, आठके एक्सपिडेसन बाट नौ जना, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुई जनाले अन्नपूर्णको सफल आरोहण गरेको नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोहीहरु अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उहाँले बताउनुभयो ।

सेभेन समिट ट्रेकका सञ्चालक थानेश्वर गुरागाइँले आफ्नो तर्फबाट नौ जनाले अन्नपूर्णको सफल आरोहण गरी आधार शिविर फर्किएको जानकारी दिनुभयो ।


अन्नपूर्णको सफल आरोहण गरेपछि मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘‘सुख्खा अवस्था, धेरै दरारहरू, क्याम्प दुई र क्याम्प तीनबिचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो । अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे । अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिन,’’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

आरोहणको सिजन सुरु भएसँगै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा यतिखेर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।

गत वर्षभन्दा यसपटक आधर शिविरमा आरोही र पर्यटकको चहलपहल निकै बढेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटनकर्मी तेज गुरुङले भन्नुभयो, ‘‘मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेका आरोहीहरुको टोलीले टेन्ट टाँगेर बसेका छन् । आरोहीहरु पुग्न थालेपछि आधार शिविर गाउँ जस्तै बनेको उहाँले बताउनुभयो ।

पर्यटन विभागका अनुसार वसन्तयाममा हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला गरेर ४२ जना विदेशी नागरिकले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए ।

पर्यटकीय सिजन सुरु भएसँगै आधार शिविर पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धी भएको उहाँले बताउनुभयो । आरोहीहरु र सहयोगी गरेर आधार शिविरमा अहिले करिब तीन सयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । आरोही र पर्यटक आउन थालेपछि नारच्याङका स्थानीय मजदुरहरुले रोजगारी पाउन थालेको उहाँले बताउनुभयो । धेरै आरोहीहरु यसपटक पैदल हिँडेर आधार शिविर पुगेपछि पदमार्गमा खुलेका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु उत्साहित भएका छन् ।

हिमाल आरोहणको याम सुरु भएलगत्तै पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर आरोहणको तयारी  थालेका हुन । 

अन्नपूर्णको अहिलेसम्म पाँचसय २० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो ।

प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्नसकिन्छ । 

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।