• २५ चैत २०८१, सोमबार

खरानीबाट उठ्ने प्रयास

blog

आन्दोलनका नाममा आपराधिक गतिविधि कुनै पनि हालतमा मान्य हुँदैन । अपराध अपराध नै हो र त्यो कहिल्यै राजनीति हुन सक्दैन । क्षम्य पनि हुन सक्दैन । शान्तिपूर्ण तवरले आफ्ना माग राख्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । संविधान, कानुन र काइदाभन्दा पर गएर जनधनको क्षति गरी अगाडि बढ्नु कुनै पनि हालतमा मान्य हुँदैन तर दुर्भाग्य ! हामीकहाँ यस्ता घटना हुने गरेका छन् । चैत १५ गते राजधानीमा यस्ता हुन नहुने घटना भए । इतिहास भइसकेको राजतन्त्र फेरि ल्याउँछु भन्नेहरूले आन्दोलनका नाममा दुई जनाको ज्यान लिए । सरकारी र सार्वजनिक सम्पत्तिमा ठुलो नोक्सान पुर्‍याए । सुपरमार्केट लुट्न गए भने देशीय साधन र स्रोतबाट अब्बल औषधी उत्पादन गरिरहेको जडीबुटी उद्योग ध्वस्त पारे । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र नेपाली श्रम, सिप, साधन र कच्चा पदार्थको अब्बल उद्योग थियो । प्रारम्भिक मूल्याङ्कनबाट करिब २८ करोड रुपियाँ बराबरको क्षति भएको छ । यस्तो पवित्र संस्थामा आगो लगाई खरानी बनाउँदा सच्चा नेपालीको मन रुँदैन र ?

विशेष औषधी उत्पादन गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र वास्तवमै अब्बल संस्था हुँदै थियो । राजधानीमा मुख्य कार्यालय भए पनि जिल्ला जिल्लामा यसको शाखा र किसानसित प्रत्यक्ष सम्बन्धित छ । केन्द्रीय कार्यालय काठमाडौँको कोटेश्वरमा भई बारा, झापा, कैलाली, जाजरकोट, गोरखामा यस कम्पनीका शाखा क्रियाशील छन् । यस कम्पनीमा प्रत्यक्ष रूपमा चार सय जनाले रोजगारी पाएका थिए । एक हजार किसान कच्चा पदार्थ उत्पादनमा आबद्ध थिए । किसानले कम्पनीका लागि जडीबुटी उत्पादन गर्दा देशभित्रकै कच्चा पदार्थमा आधारित उद्योग फस्टाउन थालेको थियो । कम्पनीले सन्चो, सन्चो बाम, सन्चो मसाज तेल, शिलाजित, सन्चो जटा केश तेललगायतका औषधीय सामग्री उत्पादन गरिरहेको थियो । यी उत्पादन देश तथा विदेशमा लोकप्रिय छन् । कम्पनी नवीन अन्वेषण गरी उत्पादन विस्तारका क्रममा पनि थियो । यसै हप्ता नयाँ उत्पादन सन्चो मह र सन्चो शुद्ध टिमुर बिक्रीवितरण गर्ने योजनामा थियो । देशभित्रकै कच्चा पदार्थमा आधारित भएर कम्पनीले उत्पादन गरेको सुगन्धित तेलको यो नेपालमै सबभन्दा ठुलो कम्पनी पनि हो । 

विदेशबाट आयात नगरी स्वदेशी कच्चा पदार्थमा पूर्ण निर्भर रहेको कम्पनी आन्दोलनका नाममा जलाउने आन्दोलनकारीका जरो कहाँ फैलिएको छ ? किन खरानी बनाए ? अनुसन्धान गहन तवरले नै गरिनु पर्छ ।  आन्दोलनका नाममा चैत १५ गते खरानी पारेर कसलाई फाइदा पुर्‍याएका हुन् ? आगजनीले केन्द्रको भौतिक संरचना ध्वस्त भएको छ । दुई वटा भवन र १३ वटा सवारीसाधन, उपकरण, भौतिक संरचना, उत्पादित सामान तथा कच्चा पदार्थ नष्ट भएको छ । केन्द्रमा काम गर्ने सबै अझै त्रसित छन् । यो असाध्यै गम्भीर अपराधका निम्ति को को जिम्मेवारी छन्, खोजी हुनै पर्छ । अपराधीलाई कानुनी कठघरामा ल्याउनु पर्छ । आन्दोलन गर्नेहरूले क्षतिको जिम्मेवारी पनि लिनु पर्छ । यो चरम निराशाको पाटोसँगै आशाको किरण पनि देखिन थालेको छ । संस्थाले फेरि सञ्चालनको तयारी गरिरहेको छ । अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने गरी काम थालनी भएको छ । सो संस्थाका महाप्रबन्धक सङ्गीता यादवले उद्योग पुनः सञ्चालनको तयारी भइरहेको जानकारीले आशा जगाएको छ । सोचे अनुसार काम हुन सके एक महिनाभित्र उत्पादन सुरु हुने जानकारी असाध्यै सकारात्मक  हो । भवन तथा सवारी ध्वस्त भए पनि दैनिक प्रशासन आरम्भ भइसकेको छ ।

भवन  र सवारीसाधन मात्र होइन, केन्द्रका उपकरणसमेत खरानी भएपछि अब त्यसको जोहो गर्न सरकारसँग गुहार मागिनु स्वाभाविक छ । केन्द्रलाई चाँडो सञ्चालनमा ल्याउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाएर अगाडि बढ्नु आवश्यक छ । देशीय कच्चा पदार्थसित आबद्ध यो उद्योग वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालन हुँदै आएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले औषधी उद्योगलाई छिटोभन्दा छिटो सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको समाचार सुखद खबर हो । यसका निम्ति प्राविधिक तथा विज्ञसँग छलफल हुन थालेको छ । सञ्चालन गर्नका निम्ति करिब १० करोड रुपियाँ आवश्यक देखिएको बाहिर आएको छ । यसबारे मन्त्रीपरिषद् बैठकमा समेत छलफल भइसकेको बताइन्छ  । गृहकार्यले पूर्णता पाएपछि चाँडै बजेटको व्यवस्था हुन सक्ने देखिएको छ ।