• २५ चैत २०८१, सोमबार

पालिका चिनारी

घोराही उपमहानगर

blog

लुम्बिनी प्रदेशको दाङ जिल्लामा घोराही उपमहानगरपालिका रहेको छ । यो उपमहानगरपालिका क्षेत्रफलका आधारमा देशकै ठुलो उपमहानगरपालिका हो । चुरे र महाभारत पर्वतले घेरेको दाङ उपत्यकालाई एसियाकै दोस्रो ठुलो उपत्यका भनिन्छ । ठुलो उपत्यकाभित्र ठुलो उपमहानगरपालिका रहेको छ ।

कुल ५२२.२१ वर्गकिलोमिटर क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बङ्गलाचुली गाउँपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ । 

घोराही उपमहानगरपालिकाको कुल जनसङ्ख्या दुई लाख ५३० रहेको छ । कुल जनसङ्ख्याको ४६.८ प्रतिशत पुरुष र ५३.२ प्रतिशत महिला छन् । यस उपमहानगरपालिकामा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७६१ घर छन् । 

घोराही उपमहानगरपालिकामा डबरी जलाशय, आरोग्य ताल, धोबघाट, ज्यामिरे दह, बाह्रकुने ताल, नमछु बौद्ध गुम्बा, सवारीकोट, शिरडीसाई मन्दिर, गोरक्ष रत्ननाथ मन्दिर, पाण्डवेश्वर मन्दिर, त्रिशूल लगायतका पर्यटकीय क्षेत्र छन् । घोराही उपमहानगरपालिकामा विविधतापूर्ण जातीय पहिचान रहेको छ । घोराही उपमहानगरपालिकाको जनसङ्ख्याको ७२.५ प्रतिशतले नेपाली, २१.२ प्रतिशतले थारू, २.४ प्रतिशतले मगर खाम, १.९ प्रतिशतले मगर ढुट, ०.३ प्रतिशतले नेवारी, ०.२ प्रतिशतले अवधी, ०.२ प्रतिशतले भोजपुरी तथा बाँकीले अन्य भाषा बोल्छन् । लोपोन्मुख कुसुन्डा जाति पनि यसै उपमहानगरपालिकाभित्र पाइन्छन् । उनीहरूले अचेल कुसुन्डा भाषा कमै बोल्छन् ।

घोराही उपमहानगरपालिकामा ८५ वटा सामुदायिक तथा ३० वटा निजी शिक्षण संस्था छन् । यहाँको साक्षरता दर ८३ प्रतिशत रहेको छ । तीमध्ये ८९.६ प्रतिशत पुरुष र ७७.४ प्रतिशत महिला साक्षर छन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिका सांस्कृतिक र जातीय विविधतायुक्त नगर भएको जानकारी दिनुभयो ।  

नेपाल सरकारको २०७३ फागुन २२ गतेको निर्णय अनुसार साबिकका घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गाउँ विकास समिति (गाविस), सैघा गाविस., धर्ना गाविस, रामपुर गाविस र लक्ष्मीपुर गाविसलाई जोडेर घोराही उपमहानगरपालिका बनाइएको हो । 

मुना