• १९ असोज २०८१, शनिबार

महानगरको विकासका लागि प्रदेश र स्थानीय सरकार सँगसँगै

blog

पोखरा समाचारदाता 

पोखरा, जेठ २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताउनुभएको छ । 

पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पोखरा प्रदेशको राजधानी मात्र होइन, पर्यटकीय केन्द्र भएकोले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकार सँगसँगै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “पोखरालाई पर्यटकीय नगरी वा अन्य कस्तो सहर बनाउने भनेर योजना तयार पार्ने हामीले नै हो । त्यसका लागि प्रदेश र स्थानीय सरकार एकाकार हुनुपर्छ ।” 

“पोखरालाई राम्रो बनाएर भावी नेतृत्वलाई सुम्पने यही समूहले हो । सोचौँ, कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ,” मुख्यमन्त्री पोखरेलले थप्नुभयो, “पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि पूर्वाधार निर्माण जरुरी छ ।” 

गण्डकी प्रदेश हरेक सूचाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछाडि परेको चर्चा गर्दै उहाँले नीति नियम कमजोर हुन् या योजना ? कहाँनेर कमजोरी छन्, त्यो पत्ता लगाएर आर्थिक गतिविधि अघि बढाउनुपर्ने छ भन्नुभयो । 

पोखरा त अब प्रदेशको मात्र होइन, मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । त्यो पर्यटन व्यवसायबाट सम्भव छ । पोखरा कास्कीभित्रको सहर मात्र होइन, मादी र आँधीसँगै जुध्न सक्ने वातावरण तयार हुनुपर्ने भनाइ उहाँको थियो ।

‘स्याटेलाइट’ सहर विस्तारका लागि प्रदेशले आवश्यक गृहकार्य गरिरहेको सुनाउँदै मुख्यमन्त्री पोखरेलले सबै खालका गतिविधि पोखरा सहरभित्र मात्र समेट्न सम्भव नभएकाले त्यसका लागि बृहत् पोखराको परिकल्पना गरिएको बताउनुभयो । 

उहाँले पर्यटकीय गन्तव्यका लागि नयाँ स्थान थपेर राजस्व सङ्कलन, सुविधायुक्त बसपार्क र सार्वजनिक शौचालय निर्माणका लागि प्रदेश सरकार र पोखरा महानगरबीच समन्वय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

फेवातालको मापदण्ड र संरक्षणमा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ‘ल्यान्डफिल साइट’को विकल्प र विमानस्थलसम्मको सडक विस्तारलगायत पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सो अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी)केन्द्र कास्कीका अध्यक्ष बखानसिंह तमु, नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष खड्ग हमालले महानगरको नयाँ नेतृत्वले पोखरेली जनताको सपनालाई साकार पार्न दृढताका साथ लाग्नुपर्ने बताउनुभयो । 

त्यस्तै पोखरा महानगरका नवनिर्वाचित प्रमुख धनराज आचार्यले दुई दिनसम्म चल्ने नेतृत्व विकास तालिममा महानगरका जनप्रतिनिधि, महाशाखा र शाखा प्रमुखलाई विभिन्न समूहमा विभाजन गरी नेतृत्व र क्षमता विकासमा अभिमुखीकरण गरिने बताउनुभयो । 

स्थानीय सरकार र कर्मचारीबीच आपसी समन्वय र सहकार्यका लागि यस्ता रचनात्मक कार्यक्रम प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । पूर्वराजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जित आचार्य, रविन कटुवाल र खिमलाल सापकोटा लगायतले तालिम सहजीकरण गरिरहनुभएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।