• २३ चैत २०८१, शनिबार

भेन्टिलेटरबाट (कविता)

blog

क्यान्सरको कमारो भएर भोगिरहेको छु मैले

मेरा बाजेले वन उजाडेर सुर्ती लगाएको सजाय ।

हुन त

बाबुले उब्जाउ खेतको छातीमा

चिता बनाएर चलाएको उद्योग पनि

त्योभन्दा कम कहाँ थियो र !

मैले ?

मैले त के बिराएको थिएँ र !

सहरका चोक चोकमा

टायर र आगोको समागम गराएर

सत्ताको प्रतीक आकाशलाई

अलि बढी गुम्स्याएको न थिएँ धुवाँमा !

अझ बढी केही गरेको भए

प्लास्टिकका झिरिमिटी डढाएर

विकासको विजयोत्सव मनाएको न थिएँ

सत्तासीन भएको मौकामा !


फेरि किन यी कलिला मुनाहरू राखिँदै छन्

मैले नै ओगटेको भेन्टिलेटरको पालोमा ?

ए डाक्टर !

कृपा गरेर नभनिदेऊ मलाई

मेरा नातिनातिनाका धमनी र सिराहरूमा

रगतको सट्टा

धुवाँ, प्लास्टिकका कण र विषादीको लेदो मात्र

बगिरहेको छ भनेर !

र मेरो जस्तै

यही भेन्टिलेटर नै

उनीहरूको पनि अन्तिम वासस्थान हुँदै छ भनेर ।