• २३ चैत २०८१, शनिबार

हुर्रिंदै हरिहरपुरगढी

blog

बिहानै रापिलो घाम । २०८१ चैत १७ आइतबार चाउवेन बुढाथोकी र मोतीलाल बोट बिहानैदेखि यात्राको तय गर्दै थिए । सर्लाही जिल्लाको उत्तरपश्चिमी नगरपालिका बागमतीका बासिन्दा हामी । हाम्रो गाउँदेखि सिधा उत्तरमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका पर्छ । त्यही गाउँपालिकाको कुनै स्थानलाई लक्ष्य गरी यात्रा गर्ने विषयमा सल्लाह गर्दै थियौँ ।

मोतीको मोटरसाइकलमा म चढेँ । कृष्ण रखालमगरको मोटरसाइकलमा चाउवेन बुढाथोकी चढेपछि हाम्रो यात्राले गति लियो । भीमसेन थापाको मोटरसाइकलपछाडिको सिट खाली नै रह्यो । बागमती नगरपालिका–११ स्थित हरिहर क्षेत्र, तपोवन हुँदै हामी उकालो लाग्यौँ । रुखबाट खसेका सुकेका पातपतिङ्गर बाटाभरि छरिएका थिए । बाटो धुलाम्मे छ । यस्तो खुरिखण्डी मौसममा यात्रा गर्ने हाम्रो साहस अदम्य छ । सबैको अनुहारमा खुसीको लहर सल्बलाइरहेको थियो । हाम्रो टोली नेता चाउवेन बुढाथोकीको उर्दीलाई शिरोधार्य गरी बाटोको धुलो उडाउँदै हाम्रा मोटरसाइकल उत्तराभिमुख हुँदै गुडिरहेका थिए । चैत महिना हुनाले जङ्गलमा उस्तो हरियाली छैन । पतझड वनको उदास अनुहार नियाल्दै हामी अगाडि बढ्यौँ । बागमती नदीको किनारैकिनार निर्माणाधीन बागमती–पिपलमाढी धुले सडकमा हाम्रो यात्रा चालु थियो । भिमाद दोभान र मोरङे पनि कटिसकेका थियौँ । बाटोमा कतै ग्राभेल गर्ने त कतै ढुङ्गाको गारो लगाउने काम भइरहेको थियोे । ठाउँ ठाउँमा सडक मजदुर आआफ्ना काममा व्यस्त देखिन्थे ।

यो बाटो पिच हुने हो भने सर्लाहीको बागमती नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा विशेष लाभान्वित हुने थिए । चाउवेन बुढाथोकीले भनेको यस वाक्य सुनेपछि मैले पनि मनमनै यस बाटोबाट हुने फाइदाको लेखाजोखा गरेँ ।

यो बाटो राम्रोसँग बन्यो भने हामी बागमतीका मानिसलाई हेटौँडा जाँदा पथलैया र सिन्धुलीमाढी जाँदा बर्दीबास पुग्नैपर्ने बाध्यता हट्ने छ । स्थानीय समाजसेवी भीमसेन थापाले पनि आफ्नो मनमा खेलिरहेका कुरालाई शब्दमा व्यक्त गरे । क्यानेश्वर पुलमा पुग्ने पुग्ने बेला बाटो दुईतिर फाट्टियो । हामी दाहिनेतिरको बाटो समातेर अगाडि बढ्यौँ । यता आएपछि अपेक्षाकृत रूपमा अलि राम्रो बाटो भेटियो । केहीबेरको मोटरसाइकल यात्रापछि हामी राँगे दोभान भन्ने स्थानमा पुग्यौँ । बाटोमाथिका बारी बाँझै देखिए पनि बाटोमुनिका बारीमा मकैका रहरलाग्दा बोट थिए । मकैको हरियालीले हाम्रो मन पनि खुसीले हरियै भयो । यहाँको यो सानो सानो गाउँ रहेछ । टिनले छाएका चिटिक्क परेका घर छन् । हरिहरपुरगढी नगरपालिकाको ६ नम्बर वडामा पर्ने यस गाउँमा यसअघि म आइपुगेको थिइनँ । हुन त मेरो घरबाट बढीमा आठ÷नौ किलोमिटर दुरीमा होला यो गाउँ । एउटा सानो पक्की घरमा वडा कार्यालय रहेको देखियो । प्रयोग हुने गरेको नभए पनि देखाउनैका लागि सार्वजनिक शौचालय बनाएको देख्दा मेरो मन खिन्न भयोे । शौचालय हुनु पर्छ भन्ने शासकीय चेतना यता पनि आइपुगेको रहेछ । यस कुराले मनमा सन्तोषको लहर उठ्यो । अधिकांश घर तामाङका । रहनसहन, संस्कृति र धार्मिक आस्थामा समानता छ । पेसामा पनि समानता रहेछ यता । हाम्रो गाउँतिर जस्तो मिश्रित समाज छैन यहाँ । खसीबाख्रा र कुखुरापालन यताको प्रमुख पेसा रहेछ । घरैपिच्छे जस्तो आँप, कटहर र लिचीका बोट रहेका । लटरम्म फुलेका छन्– अहिले ती बोटहरू ।

यताको जमिनमा खेतीपाती पनि राम्रै हुन्छ । “बाहिरका मानिस आएर यहाँ बसेदेखि यताको पनि विकास हुने थियोे,” बाटामा भेटिएका स्थानीय देवबहादुर बोम्जनले भने । मोतीको चिनजानका व्यक्तिको घरमा केहीबेर सुस्तायौँ । सानो किराना पसल पनि रहेछ । तामाङ संस्कृति जनाउने ध्वजा हल्लिरहेका थिए वरिपरि । यताका मानिसमा रहेको सरल र मेहनती स्वभावले हामीलाई प्रभाव पारिरहेको थियोे । यहाँ आइपुग्नासाथ गिलासभरि चिसो पेयपदार्थ स्प्राइट दिएर हाम्रो स्वागत गरिएको थियोे । अब त घरमा आउने आगन्तुकलाई चियाको सट्टा चिसो पेयले स्वागत गर्ने संस्कार विकसित भइरहेको छ जताततै । यहाँबाट पनि हामी अगाडि बढ्यौँ र वैद्यटोल पुग्यौँ । हाम्रा मोटरसाइकल स्थानीय मकरबहादुर बम्जनको घरको आँगनमा पुगेर मात्रै अडिए । त्यहाँ केहीबेर रहँदा यताको आर्थिक, सामाजिक र राजनीतिक विकासको अवस्थाबारे खोजीनीति ग¥यौँ । खेतीपाती र पशुपालनबाट घरैपिच्छे राम्रो आयस्ता हुने गरेको रहेछ । घरैपिच्छे जस्तो सोलार जोडेर घरलाई उज्यालो पारेको देखियो । सरकारी आँकडाले गरिबीको अवस्था जस्तो देखाए पनि गाउँघरमा मानिसको जीवनस्तर केही सुधार भएको देखियो । घरका एक जना भए पनि विदेश गएका कारण आर्थिक अवस्था सुधारोन्मुख रहेको देखियो ।

दिनको १ बजेतिर लोकल कुखुराको मासु र कोदाको ढिँडो तयार भयो । त्यो सँगसँगै कसैले कोदाकै झोल उदरस्थ गरेपछि सबैको अनुहारमा तृप्तिको दियो बल्न थाल्यो । खानपिनपछि हामी केहीबेर सुस्तायौँ ।

खाएपछि एकछिन सुत्ने बानी छ, म ओछ्यानमा ढल्केँ । चाउवेन दाइ ओछ्यानमा पल्टेपछि मैले जिस्क्याएँ, “दाजु, तपाईं आनन्दले सुत्नुहोस् । हामी तपाईंलाई रुँगेर बस्छौँ ।”

हाँसोको आँधीले दाइलाई सुत्न दिएन । उहाँ हाँस्दै उठेर बसेपछि केहीबेर गफियौँ । खानेकुराको मूल्य दामासाहीले भुक्तानी गरेर हामी त्यहाँबाट फर्कियौँ । थकाइ मार्न क्यानेश्वार पुलमा एकछिन उभियौँ । त्यहाँबाट कतै धुलौटे र कतै समतल ग्राभेल बाटो पार गरेर हामी मरिनखोलाको किनार बखफर पुग्यौँ । झोलुङ्गे पुलबाट मरिनखोला तरेपछि बल्ल 

हेटौँडा–सिन्धुली–चतरा–धरान लोकमार्ग (मदन भण्डारी) भेटियो । हामी पश्चिमतर्फ मोडिएर श्रीपुरमा केहीबेर रोकियौँ । बाटोमा सित्तैमा उपहार पाएको धुलोलाई मिचिमिची हातमुख धोएर बिदा ग¥यौँ । त्यहाँ इच्छा अनुसार चिसो पानी पिएपछि मेरो शरीरको थकान पनि गायब भयो । त्यहाँबाट अगाडि बढेर झनझने, चैनपुर, रतनपुर, हरिहरपुर, साँढे हुँदै गुर्जी पुगेर कालोपत्रे सडक छोडी हरिहरपुरगढीका लागि दाहिनेतिरको उकालो लाग्यौँ । कतै ढुङ्गा छापेको, कतै धुले र कतै चट्टानी बाटोबाट आठ किलोमिटर उकालो पार गरेपछि हामी बल्लतल्ल हरिहरपुरगढीको मूल प्रवेशद्वार पुग्यौँ । भग्नावशेषका रूपमा रहेको यस गढी दरबारको मकवानपुरगढी दरबारसँग धेरै कुरामा समानता रहेको देखियो ।

यस गढीको रणनीतिक महŒव र पृथ्वीनारायण शाहको युद्धकौशलबारे भीमसेन थापाबाट केही कुराको जानकारी लियौँ । अङ्ग्रेज सेनासँग लड्न दक्षिणतिर मजबुत बनाएको गढी । बडे बडे ढुङ्गा जोडेर लगाइएको पर्खाल । मूल पर्खालबाहिरपट्टिको होचो भागमा गोर्खाली सेनालाई तैनाथ राख्ने स्थान । दक्षिणतिरबाट उकालो चढ्दै युद्धका लागि जाइलाग्ने अङ्ग्रेज सेनाको गतिविधि नियाल्न पर्खालमा बनाइएका ससाना प्वाल । गढीभित्रै बसेर गोर्खाली सैन्य नेतृत्वले अङ्ग्रेजलाई नियाल्न सक्ने गरी पर्खाल लगाएको देख्दा गोर्खाली सेनाको युद्धकौशल उच्चकोटिको थियोे भन्न सकिन्छ । गढीभित्र परेको पानी सोहोरिएर बाहिर पुग्ने व्यवस्था गरिएको, दुस्मनले हतपती आव्रmमण गर्न नसकोस् भनी गढीको बाहिरपट्टि अग्ला अग्ला पर्खालका बिचमा गहिरो भाग बनाएको अझै देख्न सकिन्छ । यस्तो व्यावहारिक र वैज्ञानिक किसिमको हरिहरपुरगढीको किल्ला अवलोकन गर्दा मात्रै पनि गर्वले हाम्रो छाती चौडा भएको थियोे । मकवानपुरका राजा मुकुन्द सेनले करिब सात सय वर्षअगाडि हरिहरपुरगढीको किल्ला बनाउन लगाएका र यसलाई उनले ग्रीष्मकालीन दरबारका रूपमा प्रयोग गर्ने गरेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । सिन्धुलीगढीको युद्धमा परास्त अङ्ग्रेज फौजले यस क्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने प्रयास गरेको र यस हरिहरपुरगढीमा तैनाथ गोर्खाली फौजले अङ्ग्रेजलाई परास्त गरी नेपालको अस्मिता जोगाएको कुरा इतिहासमा पढ्न पाइन्छ ।

गढीमा फर्फराइरहेको झन्डानजिक पुग्नासाथ चाउवेन दाइ गाउन थाले, “रातो र चन्द्र सूर्य, जङ्गी निसान हाम्रो ।”

चारैतिरबाट गढीको सूक्ष्म अवलोकनपछि हाम्रो मन फोटो खिच्नतर्फ लालायित भयो र मन तृप्त नहुन्जेल फोटो खिच्ने काम भइरह्यो । गुर्जीदेखि हरिहरपुरगढी पुग्ने करिब आठ किलोमिटर बाटोको स्तरोन्नतिको काम सुरु भएको देखिए पनि असहज सडकका कारण ऐतिहासिक महŒव बोकेको यो गढीमा मानिसको बाक्लो आवागमन भएको देखिएन । चारैतिरबाट जङ्गलले घेरेको, अग्लो डाँडामा रहेकाले यो गढीको प्राकृतिक सुन्दरता अतुलनीय रहेको छ तर पनि यो क्षेत्र पुराताŒिवक संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । अग्लो डाँडामा रहेका कारण पिउने पानी र खाजा खाने होटेलको साह्रै जरुरी देखिन्छ । गढी, दरबार, किल्ला जस्ता ऐतिहासिक, पुराताŒिवक सम्पदाको संरक्षण र विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान जानु जरुरी छ । यस गढीलाई सरकारले ऐतिहासिक पर्यटकीय महŒवको स्थानका रूपमा पहिचान गरी यहाँको विकासलाई प्राथमिकता दिएमा यो गढी पर्यटकको रोजाइमा पर्ने देखिन्छ । 

बेलुकाको ४ बजेका कारण हामी अरू बढी अल्मलिएनौँ । हेर्न त अझै धेरै मन थियोे । गढीको छातीमाथि उच्च गर्वका साथ अझै धेरैबेर बस्न मन थियोे तर समय हामीलाई छिटो छिटो तल फर्काउन जोडतोडले लागेको थियोे । समयलाई रोकेर राखिराख्ने सामथ्र्य हामीमा थिएन । मनमा हरिहरपुरगढीको ऐतिहासिकता र पुराताŒिवक अवशेषको स्वरूपलाई सजाउँदै हामी पुनः ओरालो झर्न थाल्यौँ । शरीर थाकेको भए पनि मनमा खुसी फुलिरहेको थियो ।

Author

लीलाराज दाहाल