• २० चैत २०८१, बुधबार

स्याङ्जामा बढ्न थाल्यो आगलागी र डढेलोका घटना

blog

सोमबार राति वालिङ नगरपालिका–११ को जङ्गलमा लागेको आगो । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), चैत १९ गते ।
स्याङ्जामा आगलागीका घटना बढ्न थालेको छ । केही दिन यता जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ । आगलागीले घर, गोठ जलेका छन् भने वनजङ्गलमा भएको आगलागीले खानेपानीका पाइप लगायत जलेका छन् । जङ्गलमा लागेको आगो बस्तीमा आउने डरले धेरै गाउँलेहरू सतर्क भएर बस्ने गरेका छन् ।

पछिल्लो एक हप्तामा मात्रै वालिङ, पुतलीबजार, गल्याङलगायतका पालिकाका विभिन्न ठाउँमा आगलागी भएको जिल्ला वन कार्यालय स्याङ्जाले जनाएको छ । सामुदायिक वन तथा खरबारीहरूमा आगलागीको घटना बढेको वन कार्यालयको भनाइ छ । 

केही दिनको अन्तरालमा मात्रै धेरै ठाउँमा आगलागी भएको छ जसका कारण धेरै धनमाल नष्ट भएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा आगलागी हुँदा १० लाख बराबरको धनमाल नष्ट भएको छ । अर्जुनचौपारी गाउँपालिका–६ का ८० वर्षीय बुद्धिबहादुर नेपालको घर र गोठमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जङ्गलमा लागेको आगो बस्तीमा पस्दा घर र गोठ जलेको हो ।

यस्तै, वालिङ नगरपालिका–१२ भन्ज्याङ तिलाहरेमा आगलागी हुँदा तीन गोठ जलेर नष्ट भएको छ । स्थानीय कमलकान्त न्यौपानेको बाख्राफर्म पूर्णरूपमा जलेर नष्ट भएको छ भने फर्मसँगै रहेका दुई गोठ जलेर नष्ट भएको वडा अध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका–८ भिमटारीमा आगलागी हुँदा खानेपानीको पाइप जलेर नष्ट भएको छ । ११ पालिका रहेको स्याङ्जामा प्राय सबै पालिकामा आगलागीको घटना भएको प्रहरीले जनाएको छ ।

आगाे लाग्नुभन्दा पहिले सतर्क रहन सबै पालिका र सरोकारवालाहरूलाई सचेत गराइएको जिल्ला वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता समिति, आमासमूह, युवा समूह लगायतलाई सचेत बनाई गाउँठाउँमा हुन सक्ने आगलागी कम गर्ने काम गरिरहेको उहाँको भनाइ छ । आगो लगाउने बारे सूचना दिन कार्यालयले अनुरोध गर्दै आएको छ ।