• २० चैत २०८१, बुधबार

घाँस पलाउने भन्दै धनकुटाका दर्जनौँ वनमा आगलागी

blog

कोकिला भण्डारी 

धनकुटा, चैत १९ गते । घाँस पलाउने बहानामा धनकुटाका दर्जनौँ बनमा आगो लगाएको पाइएको छ । आगो निभाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको थियो । 

स्थानीयवासीले पातले पुरिएका भुइँमा आगो लगाएपछि नयाँ घाँसका पालुवा पलाउने  भन्दै आगो लगाउने गरेको पाइएको हो । सामुदायिक वनका उपभोक्ता समितिहरूले सचेतनाका कार्यक्रमहरू नल्याएकाले वर्षेनी यस्ता समस्या आउने गरेको पाइएको छ । 

आगोका कारण लाखौँ धनजनको क्षतिसमेत भएको थियो । आगलागीबारे जनचेतनाको अभावका कारण यसरी आगो लगाउने प्रचलन नै छ । यसरी आगो लगाउँदा जिल्लामा आगलागीका घटना बढ्न थालेका छन् । 

सोमबार मात्रै दर्जनौँ ठाउँमा आगलागी भएका छन् । आगलागी हुने वनहरूमा धनकुटा नगरपालिका ४ स्थित वाग्ले सल्लेरी वनमा चुरेघाटी पाखामा रहेको पानी पम्प स्टेसन छेउदेखि सुरु भएको आगो प्रहरी, नेपाली सेना र स्थानीयले रातभर नियन्त्रणको प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका ३ सिंहदेवीस्थित लालबहादुर कटुवालको निजी वनमा आगलागी भएको छ । आगलागीको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको हो ।

त्यसै गरी धनकुटा नगरपालिका १ हिले स्थित खरायो टि–स्टेटमा, धनकुटा नगरपालिका ४ स्याउले स्थित सेउले सामुदायिक वनमा, महालक्ष्मी नगरपालिका ४ थाक्लेस्थित अरुण पिप्ले सामुदायिक वनमा, साँगुरीगढी गाउँपालिका ७ घण्टेस्थित विलेनी सामुदायिक वनमा र धनकुटा नगरपालिका ८ टेकुनालास्थित पाखो बारीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

खास गरी घाँस पलाउने भ्रममा वन जङ्गलमा आगो लगाइने गरिएको छ । जसका कारण बस्तीमा आगो फैलिएर धनजनको क्षति हुनसक्ने र जीवजन्तुको विनाश हुने हुँदा आगो नलगाउन अनुरोध गरेको जिल्ला वन उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष नीलबहादुर थापाले जानकारी दिनुभयो ।