म्याग्दी समाचारदाता
म्याग्दी, चैत १९ गते । पछिल्लो समय वनमा डढेलो लाग्ने क्रम बढेको छ । वनजङ्गलमा रहेका वनजन्य उत्पादनको प्रयोगमा आएको कमीले गर्दा डढेलोको जोखिम दिनानुदिन बढ्दै जान थालेको हो ।
पछिल्ला वर्षमा हिउँदे वर्षाको कमी, बढ्दो तापक्रम एवं वन पैदावारमा आधारित उद्यम सञ्चालन हुन नसक्नु जस्ता कारणले गर्दा वनडढेलोको जोखिम बढ्दै गएको वन क्षेत्रका विज्ञको धारणा छ । वन क्षेत्रमा उत्पादन हुने र त्यस क्षेत्रमा रहेको ज्वलनशील पदार्थ उपयोग नहुँदा डढेलोको जोखिम बढेको देखिन्छ ।
ग्रामीण भेगमा मानवीय उपस्थिति कमी हुँदै जाने र वन क्षेत्रको घाँसदाउरा, काठ जस्ता वन पैदावार उपयोग नहुनुका साथै चरिचरनको अभावमा जङ्गलमा पातपतिङ्गर तथा झाडी थुप्रिन जाँदा वनडढेलोको जोखिम प्रत्येक वर्ष बढ्दै गएको डिभिजन वन कार्यालय म्याग्दीका सूचना अधिकारी विनयबहादुर अधिकारीको भनाइ छ ।
वन क्षेत्रमा लाग्ने डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ, दाउरासहित जैविक तथा पर्यावरणीय क्षेत्रमा धेरै क्षति बढ्दै गएको उहाँको भनाइ छ ।
वनडढेलो लाग्नुमा सरकारी पक्षको उदासीनता, कानुनी अस्पष्टता, जलवायु परिवर्तन, परम्परागत ज्ञान प्रयोगमा कमी जस्ता कारणले हुने गरेको बेनी नगरपालिका–७ का ज्येष्ठ नागरिक पहलबहादुर खत्रीको भनाइ छ ।
उहाँले भन्नुभयो, “वनडढेलोको मुख्य कारण मानवीय लापर्बाही हो तर त्यसमा राज्यका निकायको उदासीनताले पनि मलजल गर्ने गरेको छ ।”
घर निर्माण तथा अन्य पूर्वाधार निर्माणमा काठजन्य सामग्री, आल्मुनियम, फलाम र युपिभिसी जस्ता सामानको आयात वृद्धि हुनु र मुलुकको वन पैदावार कुहेर र सडेर खेर जानुका साथै वन क्षेत्रमा झाडी बढ्दा सुक्खा मौसममा आगोको जोखिम बढ्दै गएको खत्रीको भनाइ छ ।
म्याग्दीमा गत आर्थिक वर्षमा ९८ पटक भएको आगलागीका घटनाबाट एक हजार १२ हेक्टर जङ्गल क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ । गत वर्ष वनडढेलोका कारण एक जना मानिस घाइते भएका थिए ।
मुख्य रूपमा वन क्षेत्रका सडकमा यात्रीले प्रयोग गरेका प्रज्वलनशील पदार्थ, चुरोट, बिँडी खाएर फालेका ठुटा, स्थानीय बासिन्दाले निजी जग्गामा लगाउने आगोको सानो झिल्कोले पनि सिङ्गो वन, जङ्गली जनावर एवं चराचुरुङ्गीको वासस्थान नष्ट हुने डिभिजन वन कार्यालयका अधिकृत चन्द्रमणि सापकोटा बताउनुहुन्छ । लामो समय वर्षा नहुनुले जोखिमयुक्त मौसम मानिने चैत, वैशाखमा डढेलो बढ्न लागेको उहाँको भनाइ छ ।
गत आवमा म्याग्दी जिल्लामा वनमा डढेलो लगाउने दुई जनालाई डिभिजन वन कार्यालयले जिल्ला अदालत म्याग्दीमा मुद्दा दायर गरेको भए पनि दुवै जनाले सफाइ पाएको जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायको भनाइ छ ।