• २० चैत २०८१, बुधबार

सम्झौताको पाँच महिना अगावै पुल निर्माण

blog

बुल्दी खोला माथि बन्दै गरेको पुल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १९ गते । सम्झौता भन्दा पाँच महिना अगाडि नै यहाँ निर्माणाधीन पुल सम्पन्न हुने भएको छ ।  व्यास नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने बुल्दी खोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा  निर्माणाधीन पुल सम्पन्न हुने भएको हो ।

निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले सम्झौता अवधि भन्दा पाँच महिना अगावै पुल निर्माण सम्पन्न गर्न लागेपछि सबैले प्रशंसा गरेका छन् ।  वैशाखदेखि पुल निर्माण कार्य सुरु गरेको सो निर्माण कम्पनीले चैत्र महिनाभित्र नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम तीव्र पारिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्त्वपूर्ण तवरबाट निर्धारित समय भन्दा अघि काम पुरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । निर्माणाधीन पुलको हाल ९७ प्रतिशत भौतिक प्रगति भैसकेको छ । समयावधि अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भए पनि सम्झौता अगावै पुल निर्माण सम्पन्न गर्न लागेको व्यास नगरपालिकाले जनाएको छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो ।

कम्पनीले निर्माण कार्यलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट [पाइप राखेर बनाइएको अस्थायी संरचना] सवारीसाधन आवतजावत हुँदै आएको थियो । पुल बनेसँगै व्यास नगरपालिका–१ मा निर्माण गरिएको बसपार्कमा सवारी पार्किङ गर्न तथा स्थानीय बासिन्दालाई आवतजावतको लागि सहज हुने नगर प्रमुख न्यौपाने बताउनुहुन्छ ।