मध्यविन्दु समाचारदाता
मध्यविन्दु, चैत १९ गते । नवलपरासीपूर्व (नवलपुर) को देवचुली–१६ मा पर्ने बेलस्वारा गाउँमा खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । गाउँनजिक रहेको धरादीखोलाबाट पानी ल्याइए पनि पर्याप्त नहुँदा खानेपानीको समस्या झेल्दै आएको स्थानीय कुलबहादुर पाटामगरले गुनासो गर्नुभयो ।
बर्खामा पानी हुने भए पनि हिउँद लागेपछि पानीका मुहान सुक्दा समस्या जटिल बन्ने गरेको उहाँले बताउनुभयो । पानी पर्याप्त नआउँदा अड्कलेर खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
हिउँदमा गाउँमा वितरणका लागि ल्याइएको पानीको मुहान सुक्ने हुँदा खानेपानीको समस्या हुने गरेको छ । उहाँले भन्नुभयो, “बस्नलाई वातावरण ठिक छ तर खानेपानीको समस्या छ । मान्छेलाई पिउने पानी चाहिए जति आउँदैन, वस्तुभाउलाई समेत पानी अड्कलेर दिनु पर्छ ।”
चैत लागेसँगै पानी कम हुँदै गएको बेलस्वारा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थुमबहादुर पाटामगरले बताउनुभयो । वर्षाको समयमा पानी हुने भए पनि हिउँदमा पानीका मुहान सुक्दै जाँदा सबैले आवश्यकता अनुसार पानी उपभोग गर्नसमेत अप्ठ्यारो हुने गरेको उहाँको भनाइ छ । गत वर्ष पानी सुकेपछि जलुकेखोलाबाट ट्याक्टरमा पानी बोकेर मान्छे र वस्तुभाउलाई खुवाउनु परेको उहाँले बताउनुभयो ।
बेलस्वारामा खेतीयोग्य जमिन प्रशस्त भए पनि पानीको स्रोत नहुँदा बाँझै राख्नु परेको अर्का स्थानीय रामबहादुर बाचेमगरको दुःखेसो छ । बर्खामा धान लगाउनुबाहेक अन्य समयमा पानीको अभावले अरू बाली भित्र्याउन नपाएको उहाँको भनाइ छ । रामबहादुरले भन्नुभयो, “घर वरिपरि खेतबारी छ तर पानी नहुँदा सामान्य तरकारी फलाउन पनि सकिँदैन । बारीमा केही उमार्न आकाशको पानीको भर पर्नुपर्ने हुन्छ ।”
पहाडी क्षेत्र भएकाले भूमिगत पानी निकाल्न नसकिने हुँदा नयाँ मुहानको व्यवस्थापन गर्न सके पानीको समस्या कम हुने उहाँको भनाइ छ । खानेपानीसँगै सिँचाइको प्रबन्ध गर्न सके गाउँमा कृषिबाट आयआर्जन गर्न सकिने र गाउँबाट पलायन हुनुपर्ने अवस्था हट्ने उहाँले बताउनुभयो । खेतबारी हुँदाहुँदै पनि पानी अभावले वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्नसमेत नसकेको रामबहादुरले बताउनुभयो ।
खानेपानीको समस्या झेल्दै आएका बेलस्वारासहित कोलडाँडा, जलुकेका करिब ६५ घरपरिवारका लागि खानेपानीको थप व्यवस्थापनका लागि अध्ययन भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय एकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले जानकारी दिनुभयो ।
नयाँ मुहान खोजी गर्ने र अहिले सञ्चालनमा रहेको खानेपानी योजनालाई सुधार गरी उक्त स्थानमा खानेपानीको समस्या समाधानमा पहल भइरहेको उहाँको भनाइ छ । हाल सञ्चालनमा रहेको खानेपानीको पाइपलाइन तत्काल सुधार गर्ने र गाउँनजिक रहेको अर्को मुहानमा पानीको अवस्थाको अध्ययन गरी स्थानीयलाई खानेपानी पुर्याउने गरी योजना अघि बढाउने तयारीमा आफूहरू रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।