• २० चैत २०८१, बुधबार

दुई दिनमा करिब चौध हजार पर्यटक

blog

मुक्तिनाथ समाचारदाता 

मुक्तिनाथ (मुस्ताङ), चैत १९ गते । दुई दिनको अवधिमा मुस्ताङमा करिब १४ हजार स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सडक तथा पदमार्ग र हवाईमार्ग हुँदै शुक्रबार र शनिबार १४ हजार ८५३ जना पर्यटक भित्रिएको जनाएको छ । शुक्रबार कुल नौ हजार ५५६ जना र शनिबार चार हजार २९७ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

प्रहरी चौकी घाँसाबाट सङ्कलन गरिएको विवरणमा शनिबार भित्रिएका पर्यटकमा दुई हजार २२७ जना पुरुष, एक हजार ८७६ जना महिला र सार्क राष्ट्रबाट १०९ जना पुरुष, ६५ जना महिला, अन्य मुलुकबाट १३ जना पुरुष र छ जना महिला रहेका छन् । सार्क राष्ट्रमा अधिकांश भारतीय रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । शनिबार चैत्र कृष्ण औँसीमा दिवङ्गत पितृका नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्नेहरू कागबेनी र मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएका छन् । 

मुस्ताङमा विदेशी पर्यटकको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्रले राख्ने गरेको छ भने नेपालीको तथ्याङ्क सवारीसाधनमा यात्रा गरेका आधारमा प्रहरीले नाकामा सङ्कलन गर्ने गरेको छ । मुस्ताङमा नेपालीपछि सबैभन्दा धेरै जाने भारतीय नागरिक छन् । मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको ठुलो हिस्सा मुक्तिनाथ मन्दिरले ओगटेको छ ।