• २० चैत २०८१, बुधबार

निर्माणाधीन झोलुङ्गे पुल बर्खाअघि नै निर्माण हुने

blog

पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र ६ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल ।

विदुर आचार्य 

चौतारा, चैत १९ गते  । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन झोलुङ्गे पुल वर्षा सुरु हुनुअगावै निर्माण सम्पन्नको चरणमा रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चार वटा पुल निर्माणका क्रममा रहेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार जिल्लाका बलेफी, जुगल, पाँचपोखरी र इन्द्रावती गाउँपालिकामा झोलुङ्गे पुल निर्माणको चरणमा छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ र १ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । “बर्सातको समय सुरु हुनुपूर्व नै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्यमा छौँ, गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो, “गत वर्षको बाढीपहिरोले धेरै क्षति पु¥यायो । गाउँपालिका केन्द्रदेखि वडा नम्बर १ र २ पूर्ण रूपमा पालिकाको सम्बन्धबाट विच्छेद भयो । बर्सातको समयमा सडक सञ्जालमा क्षति हुने भएकाले त्यसअगावै झोलुङ्गे पुल निर्माण गरिसक्ने लक्ष्य राखिएको हो ।” 

गाउँपालिकाको वडा नम्बर ६ को गुफाडाँडामा निर्माणाधीन झोलुङ्गे पुल निर्माणपछि वडा नम्बर १ को बाँसखर्क र वडा नम्बर २ को विकट हिमाली बस्ती बरुवा गाउँपालिका केन्द्रबाट सिधा सम्पर्क कायम हुने छ । पुलको लट्ठा तान्ने काम भइरहेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण भट्टराईले भन्नुभयो, “उक्त पुल आगामी दुई महिनामा निर्माण सम्पन्न हुने छ ।”

जुगल गाउँपालिकाको विकट तथा अन्तिम बस्ती तेम्बाथान र तेगा जोड्ने पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जुगल गाउँपालिका–३ का अध्यक्ष लक्ष्मान दोङले जानकारी दिनुभयो । विकट बस्तीमा सामग्री पु¥याउन कठिनाइ भएर कार्य सम्पन्न हुन ढिलाइ भएको बताउँदै दोङले यही चालु आवमा पुल निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।  

त्यस्तै बलेफी गाउँपालिका–१ र ३ जोड्ने बोक्सेखोला पुल निर्माण सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ र इन्द्रावती गाउँपालिका–११ जोड्ने पुलको निर्माण भने आगामी वर्ष सुरु हुने पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । वर्षा सुरु भएपछि पहाडी तथा हिमाली क्षेत्रका ग्रामीण सडकमा क्षति हुन सुरु हुन्छ । सडक सञ्जाल अवरुद्ध भएपछि आवतजावतका लागि झोलुङ्गे पुल नै एक मात्र विकल्प हुने हिमाली क्षेत्रका स्थानीय बासिन्दा बताउँछन् ।