गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते । गायक तथा अभिनेता प्रकाश सपुतको पहिलो निर्देशकीय चलचित्र ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । गीतमा अभिनेता सपुत र अभिनेतृ स्वस्तिमा खड्कालाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रमा मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ । जसले चलचित्रको कथा र त्यसको मर्मलाई चित्रण गरेको छ ।
गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको चलचित्रमा अभिनेता सपुतको शब्द, रचना तथा सङ्गीत तथा योगेशकाजी शाहको सङ्गीत संयोजन रहेको छ । सुशन प्रजापतिले खिचेको गीतमा केविका खत्रीको नृत्य र प्रवीन भट्टको सम्पादन रहेको छ । चलचित्र चैत २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।