राममणि दाहाल
मकवानपुर, चैत १८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा स्थानीय सिस्नेरी कुलेखानी खोलाको दहमा पौडी खेल्न जाँदा डुबेका तीनैजना बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो पौडी खेल्न गएका उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरिएको थियोे ।
इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरका प्रहरी निरीक्षक ललिता ढकालले अचेत अवस्थामा उपचारका लागि पाटन अस्पताल लगिएकोमा चिकित्सकले साँझ मृत घोषणा गरेका थिए ।
उहाँले दहमा डुबेर मृत्यु भएकामा इन्द्रसरोवर गाउँपालिका ३ का १४ वर्षीय सुशान्त आचार्य छन् । यस्तै, मृत्यु हुनेमा काभ्रे जिल्ला नमोबुद्ध घर भएका १४ वर्षीय प्रमेश घोरसाइनी र ११ वर्षीय प्रभात घोरसाइनी छन् ।
प्रहरी निरीक्षक ढकालले प्रमेश र प्रभात दाजु भाइ भएको बताउँदै उनीहरु परीक्षा सकेर काभ्रेबाट मामाघर आएको जानकारी दिनुभयो ।
दहमा डुबेर अचेत भएको दुई दाजुभाइलाई प्रहरी चौकी सिस्नेरी मकवानपुरका वरिष्ठ हवल्दार अवध हजाराले उपचारका लागि एम्बुलेन्समा राखेर लैजानु भएको थियो । यस्तै अर्का बालक आचार्यलाई उपचारका लागि निजी गाडीमा हालेर पठाइएको थियो ।