गोरखापत्र अनलाइन
काठमाडौं, चैत १८ गते । नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमालेले आज देशव्यापी रुपमा सो जागरणसभा आयोजना गरेको हो । यसैगरी काठमाडौंको तीनकुने क्षेत्रबाट सोमबार निकालिएको मोटरसाइकल र्याली भक्तपुरमा गएर समापन भएको थियो ।
तीनकुने क्षेत्रमा आयोजित कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले जनताले लडेर ल्याएको उपलब्धीलाई पुनः पूर्व राजावादीहरुले खोस्ने दुस्साहस गर्न थालेकाले गणतन्त्रको पक्षमा जनताको चेतना जागृत गर्न जागरण सभा आयोजना गरिएको बताउनुभयो । इतिहास भइसकेको राजतन्त्र अब कुनै हालतमा फर्केर आउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
जागरण सभामा काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समिति, काठमाडौं उपत्यका प्रदेश समिति, युवा, महिला लगायतका २२ जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।
एमाले सचिवालय बैठकले गरेको निर्णयअनुसार सोमबार देशैभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरुमा जागरण सभा आयोजना गरिएको एमाले कार्यालयका मुख्यसचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।