• २० चैत २०८१, बुधबार

ध्यानाकर्षणपत्र बुझाउँदै पत्रकार महासंघ सप्तरी

blog

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै पत्रकार महासंघ सप्तरी । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव
सप्तरी, चैत १८ गते ।
पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरिएको र सञ्चारगृहमाथि आगजनी गर्नेलाई कारबाही गर्न माग गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ध्यानाकर्षण बुझाइएको थियो ।

प्रजिअ दाहालले ध्यानाकर्षण पत्र तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ध्यानाकर्षण पत्रमा पत्रकार रजकको हत्यारा तथा सञ्चारगृह र पत्रकारहरुमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउदै पत्रकार रजकको परिवारलाई न्याय तथा सञ्चारगृहमा भएको क्षतिपूर्ति तथा घाइते पत्रकारहरुको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको सुरक्षाको उचित प्रबन्ध मिलाउन बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । 

ध्यानाकर्षणपत्रमा एकसाता भित्र माग सम्बोधन गर्न आग्रह गर्दै सुनुवाइ नभए सरकारविरुद्ध देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

काठमाडौंमा गत शुक्रबार एभिन्यूज टेलिभिजनकर्मी रजकको पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा भएको प्रदर्शनमा समाचार सङ्कलनको क्रममा आन्दोलनकारीहरुले उहाँलाई एक घरमा ढोका थुनेर बाहिरबाट आगो लगाएर निर्मम हत्या गरेका थिए ।