राममणि दाहाल
मकवानपुर, चैत १८ गते । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ ले जितेको छ । प्रतियोगिताका सोमबार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २५–१४, २३–२५, २५–१६, २५–२३ को सेटमा पराजित गर्दै वडा नं. ५ को टिम विजेता बनेको हो ।
वडा नं. विजेता बन्दै ७५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नं. ३ ले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नं. ५ का धिरज लो र उदयीमान खेलाडीमा वडा नं. ४ का नमराज मोक्तान घोषित हुनुभयो ।
त्यस्तै, उत्कृष्ट स्पाइकरमा वडा नं. ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा नं. ५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा नं. ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा नं. ५ का वीरबहादुर वाईवा र उत्कृष्ट प्रशिक्षक वडा नं. ५ का गोविन्द वाईवा घोषित हुँदै ट्रफि र प्रमाण पत्र प्राप्त गर्नुभयो ।
खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यताभएको कार्यक्रममा विजेता र उपविजेता टोली र खेलाडीलाई उपाध्यक्ष मल्लले ट्रफि मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।