• २० चैत २०८१, बुधबार

नेपाल फर्काइए पुरातात्त्विक सम्पदा

blog

काठमाडौँ, चैत १८ गते । नेपाल प्राचीन कालदेखि सांस्कृतिक कलाकृतिका दृष्टिले समृद्ध छ । यहाँका लिच्छवि र मध्यकालीन कलाकृति विशिष्ट र विश्वप्रसिद्ध छन् । विडम्बना ! यही कलात्मक विशिष्टताकै कारण धेरै वर्षअघिदेखि यस्ता सम्पदाको चोरी र विदेशमा निकासी हुने क्रम पनि रहेको छ । नेपालबाट सांस्कृतिक सम्पदा गैरकानुनी रूपमा कति बिदेसिए, त्यसको यकिन अभिलेख छैन । यद्यपि नेपालबाट चोरिएका यस्ता सम्पदा बिस्तारै स्वदेश भित्रिन थालेका छन् । 

यसै क्रममा आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ पुरातात्त्विक महत्त्वका कलात्मक सम्पदा नेपाल फिर्ता गरिएका छन् । २०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको इटुम्बहालका तीन बहुमूल्य पौभा चित्र, बुङमती, मछिन्द्रबहालपरिसरको चैत्यबाट हराएको नवौँ शताब्दीको प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति फिर्ता भएको छ । यसै गरी पाटनको गुइटटोलको गुइट चैत्यको १२–१३ औँ शताब्दीको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति तथा नौदेखि १९ औँ शताब्दीका अन्य १६ थान कलात्मक सम्पदा पनि नेपाल फर्किएका छन् ।

अमेरिकाका विभिन्न सङ्ग्रहालय, ‘अक्सन हाउस’ तथा व्यक्तिगत सङ्ग्रहमा रहेका यी सम्पदा अमेरिकाको न्युयोर्कस्थित युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन र म्यानहाटन डिस्ट्रिक्ट एटर्नी अफिस अफ न्युयोर्कको सहयोगमा न्युयोर्कस्थित नेपाली वाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीलाई हस्तान्तरण गरिएको थियो । न्युयोर्कस्थित नेवाः गुठीको आर्थिक सहयोग र पहलमा यी सम्पदा नेपाल ल्याइएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फिर्ता ल्याइएका यी सम्पदा रािष्ट्रय सङ्ग्रहालकी प्रमुख अरुणा नकर्मीलाई हस्तान्तरण गर्नुभयो । यी सम्पदा राष्ट्रिय सङ्ग्रहालयमा तीन महिना प्रदर्शनका लागि राखिने र त्यसपछि स्थानीय निकाय र समाजसँग समन्वय गरी ती सम्पदाको सुरक्षामा विशेष ध्यान दिन लगाई पहिलेकै स्थानमा प्रतिस्थापन गरिने छ । यसै गरी फिर्ता गरिएका २१ सम्पदामध्ये मुछलिन्द बुद्धको मूर्ति भने पाटन सङ्ग्रहालयमा राखिने छ । सो मूर्ति मन्त्री पाण्डेले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई हस्तान्तरण गर्नुभयो । मेयर महर्जनले केही दिनमा सो मूर्ति यथास्थानमा राखिने बताउनुभो ।

पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले यी कलात्मक वस्तुहरूको उत्पत्तिस्थल नेपाल भएको भनी पुरातत्त्व विभागले प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सन् १९८६ देखि नेपालबाट हराएका पुरातात्त्विक तथा कलात्मक वस्तु विदेशबाट फर्कने प्रक्रिया सुरु भएको हो । हालसम्म संयुक्त अधिराज्य (बेलायत), अस्ट्रिया, अमेरिका, चीन, भारत, जर्मनी, अस्ट्रेलिया र इटालीबाट जम्मा १७७ थान पुरातात्त्विक महत्त्वका मूर्ति तथा कलात्मक सम्पदा नेपाल फिर्ता भइसकेका छन् । अमेरिकाबाट सबभन्दा बढी अमेरिकाबाट १२८ सम्पदा फिर्ता भएका छन् । प्रधानाङ्गले सयौँको सङ्ख्यामा सम्पदा चोरी भए पनि अहिले हराएको मूर्तिको ४०९ उजुरी परेको बताउनुभयो ।

यसै गरी मन्त्री पाण्डेले फिर्ता भएका मूर्तिहरूले नेपाली सम्पदा चोर्ने र किन्ने चेष्टा नगर्न सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीहरू संसारका कुना कुनामा रहेका र तिनले आफ्ना सम्पदालाई चिन्ने र फर्काउने हिम्मत राख्छन् ।” उहाँले नेपालमा सङ्घीय सरकारको व्यवस्थापनले पनि यस्ता सम्पदा फर्काउन आर्थिक भारको चिन्ता गर्न नपरेको धारणा राख्नुभयो । ललितपुर महानगरपालिकाका मेयर महर्जनले प्रक्रिया जटिल हुँदा आफूले फ्रान्समा रहेको नेपालका केही मूर्ति फर्काउन कठिन भइरहेकाले सरकारसँग यस सम्बन्धमा समन्वय गर्न अनुरोध गर्नुभयो ।

यसै गरी काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले समुदाय सचेत भएकैले मूर्तिहरू नेपाल फर्काउन सफल भएको बताउँदै फिर्ता भइसकेका सम्पदा फेरि चोरी हुन नदिई संरक्षण गर्नु नै सबैको प्रमुख दायित्व हो भन्नुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले पनि जिम्मेवारीबोध गरेर विदेशबाट मूर्ति फर्काउने अभियानमा सहकार्य गरिरहेको जानकारी दिनुभयो ।