• २८ वैशाख २०८१, शुक्रबार

पर्वतीय वर्णनको सँगालो

blog

तुलसीहरि कोइराला

नेपालको भौगोलिक अवस्थिति ज्यादै लोभलाग्दो छ । हिमाल, पहाड र तराईका आ–आफ्नै विशेषता छन् । जनजीवन, रहनसहन र रीतिरिवाज पनि बेग्लाबेग्लै प्रकृतिका छन् । क्षेत्रफलका दृष्टिले सानो मुलुक भए पनि यति धेरै विविधता विश्वका ठूला मुलुकमा पनि पाउन सकिँदैन । यस कारण पनि विदेशीका आँखालाई हाम्रो भूमिले लोभ्याउन सकिरहेको छ । यद्यपि, आफ्नै देशको भौगोलिक, जातीय र सांस्कृतिक विविधतासँग हामी परिचित हुन सकिरहेका छैनौँ । यसो हुन नसक्नुको कारण हामी आफ्नै देश–परिवेशसँग पूर्णतः परिचित हुन सकिरहेका छैनौँ । हामीसँग इच्छाशक्तिको कमी, समय अभाव र आर्थिक पछौटेपन सँगसँगै रहेका कारण खुम्चिएका छौँ । जोसँग यी कुराको अभाव छैन, उसले घुमफिर गरेर लेखेका कुरा बसीबसी पढ्न पाउँदा हाम्रो मन आनन्दित हुन्छ । यस्तै मन आनन्दित बनाउने खुराकको रूपमा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले भर्खरै प्रकाशित गर्नुभएको छ ‘श्वेत पर्वत’ नियात्रासङ्ग्रह ।

हिमाली शृङ्खलासँग ज्यादा परिचित हुनेमा शेर्पा समुदाय पर्छ । सिर्जनामा उनीहरूमध्ये कमै मात्रको कलम चल्ने भएकाले उनीहरूका अनुभव पाठकसम्म ज्यादा आउन सकेका छैनन् । विदेशी पर्वतारोही, पदयात्री तथा पर्यटकले लेखेका सीमित सामग्री आमपाठकका लागि दुरुह नै छन् । केही हिमालप्रेमी नियात्राकारले लेखेका कृतिले हिमाली भेकसँग पाठकलाई परिचित बनाउने काम गरेका छन् । यस्तै लेखकमा पर्नुहुन्छ पराजुली । शेर्पा पर्वतारोहीका तर्फबाट विदेशी पर्यटक तथा पर्वतारोहीलाई अङ्ग्रेजीमा चिठी लेखिदिने जागिर खाँदाखाँदै जर्मन पदयात्री डा। वाल्टर लुडरसँग दोभाषेको रूपमा विसं २०४३ मा २५ दिने धवलागिरि परिक्रमा गर्ने अवसर पाएपछि उहाँमा रहेको सुषुप्त हिमाल प्रेम जागृत भएको पुस्तकमा उल्लेख गरिएको छ । लेखकका यसअघि तिब्बत यात्रा ९२०७२०, डोल्पो : विश्वको जीवित सङ्ग्रहालय ९२०७४० प्रकाशित भइसकेपछि प्रकाशित ‘श्वेत यात्रा’ ९२०७८० सम्म आइपुग्दा नियात्राकार पराजुलीले हिमालय पर्वत शृङ्खलालाई आलेखमा उतारिसक्नुभएको छ । पूर्वी कञ्चनजङ्घादेखि पश्चिम हिल्सासम्मको यात्रा गरिसक्नुभएका पराजुलीले नेपालका सबै जिल्लाको भ्रमण गरेको कृतिमा उल्लेख गर्नुभएकोले उहाँलाई नेपाल देखेबुझेको थोरै लेखकमध्येको भन्नसक्छौँ । 

प्रस्तुत कृतिलाई लेखकले चार खण्डमा विभाजन गर्नुभएको छ । पहिलो खण्डमा धवलागिरि परिक्रमा, दोस्रोमा देवचुली वरपरको परिक्रमा पदमार्ग, तेस्रोमा मुस्ताङ परिक्रमा पदमार्ग र चौथोमा मनाङ परिक्रमा पदमार्ग । यी पदमार्गमा यात्रा गर्दाका अनुभव, भौगोलिक अवस्था, जातजाति, रहनसहन, चाडपर्व, रीतिरिवाज, अन्नबाली, वनस्पतिलगायत यावत् कुरा समेटेर उहाँले पाठकलाई पूर्ण खुराक दिनुभएको छ । प्रत्येक खण्डको थालनीमा उक्त क्षेत्रका महत्त्वपूर्ण स्थल, पर्वत, हिमाल, गाउँ तथा भौगोलिक नक्सासमेत दिएर तथ्यगत प्रस्तुतिलाई जोड दिनुभएको देखिन्छ । विसं १९०५ सम्म धवलागिरि हिमाललाई नै विश्वको सबैभन्दा उच्च हिमाल भनेर मानिएको थियो । त्यसपछि कञ्चनजङ्घालाई विश्वकै अग्लो भनिँदै सगरमाथामा आएर विश्वको सबैभन्दा उच्च हिमालको रूपमा अकाट्य भएर रहिरहेको छ । लेखकले भन्नुभएको छ– ‘‘हिमाल भनेको सुन्दर गहना मात्र होइन, सृष्टि र सभ्यताको धरोहर पनि हो । यो धरोहरले विश्वको ध्यान नेपालतर्फ खिचिरहेको छ र हामी हिमालय शृङ्खलामा विश्वमै धनी कहलिएका छौँ ।’’

पराजुलीले यात्राका क्रममा टेकेका भञ्ज्याङ, टाकुरा, गाउँ, जनजीवन, सभ्यता, संस्कृति, सामाजिक चेतना, कुनै पक्षलाई पनि उल्लेख गर्न छुटाउनुभएको छैन । अन्नपूर्ण हिमाललाई देवचुलीको रूपमा लेखकले चिनाउनुभएको छ । अन्नपूर्ण पदमार्ग निकै प्रचलित र धेरैले परिक्रमा गर्न चाहना राख्ने पदमार्ग हो । यस क्षेत्रका पनि आफ्नै प्रकारका विशेषता रहेका छन् । यस क्षेत्रमा बसोबास गर्ने गुरुङ र मगरका संस्कार र संस्कृति पनि उत्तिकै रोचक छन् । डोल्पाको छार्कामा पहिले लामाको खेत नजोती वा उसको बाली नभित्र्याई अरू गाउँलेले आफ्नो बाली भित्र्याउन नपाउने, बारी जोत्नुभन्दा पहिले याकको सिङमा पूजा गरेर मात्र बीउ छर्न ब्याड बनाइने, चौँरीको दूध र अन्नको बीउ मोलेर छरिने अनौठो प्रचलन छ । खेती लगाउने यस्तो प्रचलनलाई लेखकले पुस्तकमा उल्लेख गर्नुभएको छ । हिमाली भेगका बासिन्दा प्रकृतिपूजक भएकाले हरेक सन्दर्भमा प्रकृतिकै आह्वान गर्दछन् भन्ने सन्दर्भलाई लेखकले ठाउँठाउँमा प्रष्ट पार्नुभएको छ । यस्ता स्थान विशेषका प्रचलन पुस्तकमा प्रशस्त आएकाले पाठक मनलाई आल्हादित बनाइरहन्छ । हिमाली क्षेत्रबासीको जनजीवन आफ्नै खालको छ, पहाड र तराईको जनजीवनसँग मेल खाँदैन । जसले गर्दा यस्ता कुराले आमपाठकलाई त्यस क्षेत्रमा जान र प्रत्यक्ष अनुभव गर्न पुस्तकले हुटहुटी सिर्जना गराउनु लेखकको अभीष्ट हुन्छ नै । लेखकले यात्रा गरेका चार क्षेत्रमध्ये एउटै क्षेत्रको मात्र यात्रा गर्दा पनि सिङ्गो पुस्तक तयार पार्न पुग्ने खुराक जम्मा हुन्छन् भने यहाँ त महत्त्वपूर्ण चार क्षेत्रको यात्रा विवरण आएको छ । प्रत्येक खण्डको सुरुवातीमा तत्क्षेत्रका महत्त्वपूर्ण सांस्कृतिक सम्पदा, हिमाल, नदीनाला, जनजीवनका रङ्गीन चित्र समावेश गरेर पुस्तकलाई थप ओजपूर्ण बनाइएको छ । लेखकले आफूले पदयात्रा मात्र गरेकोले धार्मिक, सांस्कृतिक र मानव विकासक्रमको इतिहासको पक्षलाई यात्रुको अनुभवको आधारमा जिज्ञासा जगाउने प्रयास मात्र गरेको भन्नुभए पनि त्यस क्षेत्रको मानव विकासक्रमको पाटोलाई यथेष्ट मात्रामा उजागर गर्न सफल हुनुभएको छ । 

नियात्रालाई निबन्ध विधाभित्रकै उपविधा मानिन्छ । यस पुस्तकको भूमिका खण्डमा भाषाविद् एवं निबन्धकार प्रा.डा. माधव पोखरेलले नियात्रामा संस्मरण पनि हुने र विवरण पनि आउने भन्दै निजात्मक अनुभूतिको घुलनले पाठकलाई ‘सहयात्रा’ गराउनु नियात्राको विशेषता भएको उल्लेख गर्नुभएको छ । वरिष्ठ पत्रकार एवं लेखक रामकृष्ण रेग्मीले लेखक कतै पदयात्रीको रूपमा, कतै संरक्षणकर्मीको रूपमा र कतै सांस्कृतिक विश्लेषकका रूपमा प्रस्तुत हुनुभएको उल्लेख गर्नुभएको छ । पाठकीय दृष्टिले भन्नुपर्दा पुस्तकमा निजात्मक अनुभूतिलाई खेलाउनुभन्दा पनि विवरणात्मक प्रस्तुतिमा लेखकले ज्यादा जोड दिएको पाइनुले पदयात्राका लागि ‘गाइड बुक’को रूपमा ‘स्वेत पर्वत’ महत्त्वपूर्ण भएको देखिन्छ । भुँडी पुराणद्वारा प्रकाशित करिब चार यस पृष्ठको आकर्षक कलेवरमा आएको पुस्तकको मूल्य ४९०।– रुपियाँ राखिएको छ ।