• १९ चैत २०८१, मङ्गलबार

भारतीय तरकारीले किसान चिन्तित

blog

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १७ गते । उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् । यसअघि १० रुपियाँ किलोमा काउली बिक्री गरेका किसान गोलभेँडा पाँच रुपियाँमा बिक्री गर्नु परेपछि मर्माहत छन् । त्यसमाथि ग्राहक नपाउँदा समस्या थपिएको छ । 

चुरेडाँडादेखि २५० किलो टमाटर लिएर बर्दीबासको शनिबारे हाट आउनुभएका वडा नं ५ का कर्णबहादुर तामाङ ढुवानी भाडा पनि असुल भएपछि टमाटर फ्याक्ने अथवा खर्चेर फिर्ता लैजाने दोधारमा परेको बताउनुभयो । सबै तरकारी किसानको साझा समस्या हो यो । 

बर्दीबासमा अहिले तीन किसिमका मूल्यसहितका गोलभेँडा बिक्री भएको छ । कविता प्रतिक्यारेट (२५ केजी) चार सय, चिउरी तीन सय र इन्डो अमेरिकन गोलभेँडा क्यारेटको १५० रुपियाँ अर्थात् प्रतिकिलो पाँचदेखि छसम्म रुपियाँमा बिक्री भएको छ । 

३० क्यारेट इन्डो अमेरिकन गोलभेँडा बिक्री नभएपछि मिथिला नगरपालिका–९ का अशोक महतोले ग्राहकले तोकेको मूल्यमै टमाटर उपलब्ध गराउनुपर्ने अवस्था आएको बताउनुभयो । बजार ठेकेदार महेश साहका अनुसार अहिले बर्दीबास हाटमा २५० देखि तीन सय क्यारेट (छदेखि आठ हजार किलो) गोलभेँडा आउँछ । उहाँले भन्नुभयो, “आपूर्ति बढे पनि कारोबार भने शून्य बराबर छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार महोत्तरीको दुई हजार छ सय हेक्टर क्षेत्रफलमा वार्षिक ३९ हजार मेट्रिक टन गोलभेँडा उत्पादन हुने गरको छ । यसको व्यावसायिक खेती बर्दीबासको उत्तरी भेगमा पर्ने ४, ५, १० र ११ नं वडामा हुँदै आएको छ । समय अनुसार मूल्यमा घटबढ हुने गरे पनि यतिसम्म सस्तिएको पहिलो पटक भएको टमाटर किसानको अनुभव छ । बर्दीबास–१०, खयरमाराका कृषक टेकबहादुर श्रेष्ठलाई गत दसैँतिर गोलभेँडा प्रतिकिलो ६० रुपियाँमा बेचेको सम्झना छ । यही गोलभेँडा खुद्रा व्यापारीले किलोको एक सयदेखि १२० रुपियाँसम्म बेचेका थिए । गत पुस, माघसम्म पनि प्रति क्यारेट हजारदेखि ११ सय रुपियाँसम्म बिक्री भएको गोलभेँडाको मूल्य यति न्यून हुनुको उत्तर कसैसँग छैन । स्थानीय कृषकका अनुसार अहिले बाहिरका व्यापारी आउन छाडेकाले निकासी प्रभावित हुँदा मूल्य झरेको हो । 

कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मनिष पाल स्थानीय उत्पादनको मूल्य झार्ने अर्को प्रमुख कारणमा नेपाली बजारमा भारतीय तरकारीको अतिक्रमण पनि हो । यसको पुस्टी प्लान्ट क्वारेन्टाइनले पनि गरेको छ । स्वदेशी उत्पादन फालाफाल भएको बेला चालु आवको साउनदेखि पुस महिनासम्म क्वारेन्टाइन मूल्याङ्कन अनुसार ८६ लाख चार हजार ५५२ मूल्य बराबरका तीन लाख ५८ हजार किलो भारतीय गोलभेँडा आयात भएको थियो । क्वारेन्टाइन प्रमुख किशोर यादवका अनुसार सोही अवधिमा दुई करोड ४८ लाख ५४ हजार मूल्यको १० लाख ३५ हजार छ सय किलो भारतीय काउली भित्रिएका थिए । योभन्दा बढी तरकारी खुला सीमाबाट भित्रिने गरको स्थानीयको भनाइ छ । 

बर्दीबास–१२ का किसान रामउद्गार दासले विदेशी तरकारी नरोकेसम्म नेपाली उत्पादनले मूल्य पाउने सम्भावना नरहेको पीडा पोख्नुभयो ।