• १९ चैत २०८१, मङ्गलबार

प्रभावित क्षेत्रमा सट्टाभरण सुरु

blog

तनहुँ समाचारदाता

तनहुँ, चैत १७ गते । निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वन क्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया सुरु भएको छ । आयोजनाले भोगचलन गर्ने वन क्षेत्र बराबरको जग्गा खरिद गरी वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढेको आयोजनाले जनाएको छ । 

आयोजना अनुसार तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ गरी ९२ हेक्टर वन क्षेत्र आयोजनाको प्रसारण लाइनबाट प्रभावित हुने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभरणसम्बन्धी जग्गाको टुङ्गो लगाउने आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । अर्थ मन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक वर्षका लागि आर्थिक सुनिश्चित गरेकाले प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको उहाँले जानकारी दिनुभयो । 

आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । आयोजना अनुसार रुख कटानका विषयमा मन्त्रीपरिषद्बाट स्वीकृति भए पनि कार्यान्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो । कुल ९४ वटा टावरमध्ये ६९ वटा टावर ठडाइएको र ११ टावरको सबै काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ । तनहुँ जलविद्युत् आयोजनाको क्षमता १४० मेगावाट रहेको छ ।