• १९ चैत २०८१, मङ्गलबार

मूल्य बढ्दा सुनको आयात घट्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १७ गते । सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । सुनको आयात भने बढ्न सकेको छैन । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपियाँ बराबरको एक हजार १८८ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपियाँ बराबरको एक हजार ९०१ केजी सुन आयात भएको थियो । यस वर्ष सुनको आयात परिणाम र मूल्य दुवैमा कमी आएको हो ।

सुनको आयात घट्दा सुनबाट प्राप्त हुने राजस्वमा समेत उल्लेख्य कमी आएको छ । चालु आवको आठ महिनामा सुन आयातबाट एक अर्ब ५८ करोड १० लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

गत वर्ष सो अवधिमा दुई अर्ब ४१ करोड ८४ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिक रत्न शाक्यले सुनको मूल्य बढेका कारण आयातमा कमी भएको जानकारी दिनुभयो । सुनको मूल्य निरन्तर बढ्दै गएपछि स्थानीय बजारमा माग कम हुँदा आयातमा समेत कमी भएको उहाँको भनाइ छ । विभिन्न वाणिज्य बैङ्कले दैनिक २० किलोका दरले सुन आयात गर्ने गरेका छन् । 

पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ । एक महिनाको अवधिमा स्थानीय बजारमा सुनको मूल्य तोलामा आठ हजार रुपियाँले बढेको महासङ्घको तथ्याङ्क छ । गत फागुन दोस्रो साता प्रतितोला एक लाख ६८ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य अहिले बढेर एक लाख ७६ हजार दुई सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको छ । सुनको मूल्य निरन्तर बढ्दै गएपछि कारोबारसमेत गिरावट आएको व्यवसायीको भनाइ छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको सात महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३.४८ प्रतिशतले बढेको छ । २०८० माघ मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस दुई हजार १५ अमेरिकी डलर रहेको सुनको मूल्य चालु आवको माघसम्म बढेर प्रतिऔँस दुई हजार ८९१ अमेरिकी डलर पुगेको छ । 

चैत लगन महिना सिजन नभएको र मूल्य पनि बढेको कारणले कारोबार ठप्प अवस्थामा रहेको शाक्यको भनाइ छ । शाक्यका अनुसार सुनको मूल्य बढे पनि नयाँ गहना खरिद गर्ने भन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक धेरै आउने गरेका छन् । वैशाख सुरु भएसँगै कारोबार बढ्ने व्यवसायीको अनुमान छ । मूल्य बढेका कारण मुख्य मुख्य पसलमा सुनको कारोबार सामान्य भए पनि भित्री बजारमा भने सुनसान अवस्था छ ।