• १९ चैत २०८१, मङ्गलबार

चौतारी पदाधिकारीद्वारा प्रदर्शनकारीको क्षतिबारे स्थलगत अवलोकन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १६ गते । प्रेस चौतारी नेपालले पूर्व राजावादीहरुको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यमको स्थलगत अवलोकन गरेको छ ।  

अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार क्षति भएका विभिन्न सञ्चारमाध्यममा पुगेर स्थलगत अवलोकन गरेको हो। 

सो क्रममा राजावादीहरूको आक्रमणमा परी घाइते भएको पत्रकारहरूको अवस्थाबारे पनि उहाँहरूले जानकारी लिनुभएको छ । चौतारी नेपालका अध्यक्ष पाण्डेले राजावादीहरूले सञ्चारमाध्यमलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । उहाँले पूर्वराजाका समर्थकहरूको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै  राज्यले अपनाएको संयमताकै कारण शुक्रवार ठुलो क्षति हुन नपाएको बताउनुभयो । पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्यसम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । 

सो क्रममा प्रेस चौतारी नेपालका का महासचिव हिरामान लामाले सञ्चारमाध्यमहरूमा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरूलाई स्थापित गर्न सपना देखिएको बताउनुभयो । यो सपना पूरा हुन नसक्ने बताउँदै लामाले अविचलित भएर आफ्नो पेसामा लाग्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।   

प्रेस चौतारीले राजावादीहरूको आक्रमणमा परेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, अनलाइन खबर लगायतका सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको छ । पूर्वराजाका समर्थकको आक्रमण परी एभिन्युजका पत्रकार सुरेश रजकको ज्यान गएको थियो । रजकलाई उनीहरूले घरभित्र आगो लगाएर थुनिदिएका थिए । आन्दोलनकारीका नाममा कान्तिपुर टिभी, हिमालय टिभी र अन्नपूर्ण पोष्ट लगायतका सञ्चारमाध्यमको कार्यालयमा आक्रमण गरेका थिए ।