गोरखापत्र अनलाइन
काठमाडौं, चैत १६ गते । गोरखापत्रका लागि बाँकेको खजुरा समाचारदाता गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको अवसरमा गुरुङ उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको हो ।
लुम्बिनी प्रदेशबाट उत्कृष्ट पत्रकारका रुपमा क्रियाशील पत्रकारिता पुरस्कारबाट उहाँलाई सम्मान गरिएको हो । उहाँसहित कोशी प्रदेशबाट ईश्वर थापा, मधेस प्रदेशबाट विकास आर्यठाकुर, वागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरी जोशी, उपत्यकाबाट विनोद दाहाल, एसोसिएटबाट डब्बु छेत्री, प्रतिष्ठानबाट रघुनाथ बजगाई र प्रवासबाट केजीन राईलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मानित गरिएको छ ।
कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट कोमल बराल, शक्तितारा स्मृति पत्रकारिता पुरस्कारबाट धर्मेन्द्र कर्ण र बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कारबाट मन्जीमा ढकाललाई सम्मानित गरिएको छ ।
त्यसैगरी उत्कृष्ट प्रदेशका रुपमा मधेस प्रदेश समिति र उत्कृष्ट जिल्लाका रुपमा रोल्पा जिल्ला समितिलाई सम्मानित गरिएको छ । पुरस्कृत हुने सबैलाई पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमाणपत्र र पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।