• १९ चैत २०८१, मङ्गलबार

पत्रकार हत्या र सञ्चारमाध्यममाथि आक्रमणविरुद्ध प्रदर्शन

blog

बेनीमा शनिबार आयोजित शोकसभा तथा विरोधसभा कार्यक्रम । तस्बिरः साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), चैत १६ गते । शुक्रबार काठमाडौंस्थित तीनकुनेमा राजावादी आन्दोलनकारीले आगो लगाएर पत्रकार हत्या र सञ्चारमाध्यममाथि आक्रमण गरेको विरोधमा म्याग्दी सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरिएको छ । 

नेपाल पत्रकार महासङ्घ  म्याग्दी शाखाले शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि बिरेन्द्रचोकमा बिरोधसभा आयोजना गरेर  समाचार सङ्कलनकै क्रममा पत्रकार सुरेश रजकको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरुद्ध  विरोध प्रदर्शन गरेको हो ।

राजावादीको आन्दोलनमा पत्रकार रजकको हत्या र सञ्चारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ  । जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले भिडियो खिचिरहेको घरमा पूर्वराजाका सर्मथकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारवाहीको माग गरेका छन् । स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।