• ७ मंसिर २०८१, शुक्रबार

खास्टे कति सुन्दर !

blog

हसिना बस्नेत 

गण्डकी प्रदेशको राजधानी पोखरालाई ‘सात तालको सहर’ भनेर पनि चिनिन्छ । फेवा, बेगनास, रूपा, खास्टे, मैदी, दीपाङ्ग, गुँदे, न्युरेनीजस्ता ताल यहाँ अवस्थित छन् । कास्कीमा रहेका यी ताल रामसार संरक्षण सूचीमा सूचीकृत छन् । पोखरामा बसोबास भएर पनि कास्कीका सबै ताल भएका ठाउँमा पुग्ने, घुमफिर गर्ने मेसो मिलिरहेको थिएन । यसै क्रममा फागुनको अन्तिम शनिबार मध्यदिनको उखरमाउलो गर्मीको बेवास्ता गर्दै पोखरा महानगरपालिका–२६ मा अवस्थित खास्टेतर्फ स्कुटरमा हुइँकिएँ । खास्टे ताल पोखराको पृथ्वीचोकबाट नौ किलोमिटर दूरीमा रहेको छ । 

जागिरे जीवनमा सधैँजसो घर र कार्यालय गर्दागर्दै कहिलेकाहीँ यसबाट टाढा भागुँ भागुँ लाग्छ । केही क्षण व्यस्त सहरको होहल्ला अनि भीडभाडबाट टाडा हुन मन लाग्छ । करिब आधा घण्टामा खास्टेसँगै जोडिएको न्युरेनी तालको छेउमा पुगियो । स्कुटर रोकेर कटुसको रुखमुनि सुस्ताउँदा तनमा एक लहर शीतलता छाए पनि मन भने हपक्क नै थियो । केही छिनको विश्रामपछि न्युरेनी तालको छेउमै रहेको पैदल मार्ग हुँदै खास्टे पुगेँ । वरपरको वातावरणले मन्त्रमुग्ध बनायो । किनकिन त्यो क्षणमा प्रकृतिको अनुपम सुन्दर ‘भर्जिन ल्यान्ड’मा विचरण गरिरहेको छु भन्ने आभास मिल्यो । 

घरी घाम त घरी छायाँमा सर्दै हातको पाली हाली हाली पेटभरि खास्टेलाई हेरी टोलाइरहेँ । डाँडामाथिबाट उडेर आएको हवाईजहाजको आवाजले एक्कासि ध्यान भङ्ग गरिदियो । दिनभर खास्टेको शान्त र स्निग्ध पानी हेर्दै पटकपटक मख्ख परेँ । आहा ! सानो भए पनि कति सुन्दर छ खास्टे ।

केही छिन तालको छेउमा रहेको प्लास्टिकको छातामुनि सुस्ताएँ । दिउँसोको घामको रापले हपक्कै बनाए पनि उत्तरबाट बगेको चिसो बतास घरीघरी नाकमै ठोक्किरह्यो । छिनछिनमै खास्टेले रूप फेरिरह्यो । सानोछँदा घरनजिकैको नारेश्वरको चौतारीबाट सधैँजसो देखिरहने रूपाताल जीवनमा देखेको पहिलो ताल थियो । यसैबीच कक्षा पाँचमा पढ्दा विद्यालयबाट हिँडेरै बेगनास ताल गएको याद पनि ताजा बनेर आयो ।

खास्टेबाट लेखनाथको जन्मथलो अर्घौं अर्चलेडाँडा पल्लोपट्टि लमतन्न देखियो भने वारि कालिका वरपर घर गुजुमुज्ज देखियो । त्यसमाथि माछापुच्छे« र अन्नपूर्ण हिमाल तथा छ्याङ्ग खुलेको नीलो आकाशको दृश्यले मन पुलकित बन्यो । गाउँगाउँमा पुगेको विकासे सडकले डाँडाकाँडामा धर्सा कोरेकोजस्तो देखिन्थ्यो । तालको उत्तरतर्फ बाँझो टारीखेत लमतन्न फैलिएको थियो । गाउँमा मान्छे पातलिँदै गएपछि टारीखेत बाझिँदै गएको केही स्थानीयले बताए ।  खास्टे ताल संरक्षणका लागि त्यहाँ वरपरका स्थानीय जनसमुदायले विभिन्न कार्यक्रम ल्याएका रहेछन् । वनभोज स्थल, धारा, शौचालयसहित पर्यटकका लागि नौका विहारको सुविधा पनि रहेछ । ताल संरक्षण समितिले माछापालनसमेत गरेको रहेछ । तालछेवैमा रहेको पसलमा खाजाका रूपमा माछा खान पाइने रहेछ । आज पनि खास्टेको सम्झनाले मनमा कैयौँ चित्र कोरिएका छन् । छिनमै चराचुरुङ्गीको आवाज सङ्गीतमय बनेर कानमा गुञ्जिन्थ्यो भने छिनमै तालमा उठेका लहरले ध्यान भङ्ग गथ्र्यो । 

तालको ड्याम वरपर केही युवा बल्छी थापेर माछा मार्न व्यस्त थिए । केही बकुल्ला माछा छोप्न अर्जुनदृष्टि दिँदै थिए । विभिन्न थरीका चराका प्रजाति यताउता उडिरहेका थिए । तालको छेउतिर शिव मन्दिरमा शिवरात्रिमा बालेको धुनीको खरानी, उखु पड्काएको दाग यत्रतत्र ताजै थिए । डुङ्गामा बसी तालको बीचतिर पुगेर ताललाई चारैतिर एक फन्को नजर लगाउँदा छेउबाट भन्दा झनै ठूलो देखेँ । बरु लाइफ ज्याकेट लगाउन खोज्दा साह्रै फोहोर देखेपछि व्यवस्थापनसँग गुनासो भने पोखेँ । खास्टे वरपरका पैदल मार्ग एक पटक हिँडेर सकिसक्दा पेटले खानेकुरा माग्यो तर खास्टेलाई जति हेरे पनि नअघाइँदो रहेछ भन्ने सुखद अनुभूति समेट्दै खास्टेको धेरै तस्बिर क्यामेरामा कैद गरेँ ।

तालको छेवैमा चौपाया चरनमा मग्न थिए । गाईबस्तु हेर्न आएका दुई स्थानीय महिलाको अनुहारमा खास्टे ताल दिन प्रतिदिन पुरिँदै गएकोमा चिन्ता झल्किन्थ्यो । ताल वरपर खनेको पैदल मार्गका साथै हावापानीमा आएको परिवर्तनले पनि ताल साँघुरिँदै गएको उनीहरूले बताए । यहीबीचमा मेरो मनमस्तिष्कमा भने प्राज्ञ तथा लोकगायिका हरिदेवी कोइरालाको यो लोकभाका गहिरो बनेर छायो ।

आउ चेली बिउँझ भो संसारलाई हेर्न ।

अब त पर्छ भो काँचुली नै फेर्न ।।

कहिलेसम्म जुठोभाँडो उनै जुठाभाँडा ।

हेर्नु छैन नियालेर आफ्नै डाँडाकाँडा ।। 

हामी महिलालाई अझै पनि घरायसी कामकाजबाट फुर्सद निकालेर घुमफिरका लागि समय छुट्ट्याउन विभिन्न कठिनाइ आइपर्छन् । कतिपय मानिस आफ्नै वरपरका सामाजिक, सांस्कृतिक, भौगोलिक विविधताका सम्बन्धमा अनभिज्ञ रहन्छन् । घरको सँघार तरेर बाहिरको संसार नियाल्दा त्यस ठाउँको भूगोल, जनजीवन, रहनसहन आदि बारे अनेकन रहस्य थाहा पाउन सकिन्छ । घरबाट निस्केर कामविशेष नपरी मनोरञ्जनकै लागि हिँड्नु, नौला कुराबारेमा थाहा पाउनु महिलालाई अभैm पनि फलामको चिउरा चपाउनुसरह भइदिन्छ । यद्यपि हामी आफैँले पनि उमेर छँदै समय व्यवस्थापन गरेरै भए पनि केही समय नयाँ ठाउँ, नयाँ परिवेश, वातावरणमा घुलमिल हुने प्रयत्न गर्नुपर्ने रहेछ । 

सिङ्गै दिन खास्टेका वरपर ठाउँठाउँमा अडिँदै प्राकृतिक सौन्दर्य, वनजङ्गल नियाल्दै घरी कान्लामाथि त घरी कान्ला तल गर्दै तालतिर हेरेर म सोचमग्न भएँ । जब हामी प्रकृतिको नजिक पुग्दछौँ, तब अवगत हुन्छ मानिसले धेरै कुरा किताबबाट मात्र नभएर प्रकृतिको किताबबाट समेत थाहा पाउन सक्दछ । प्रकृति आफैँमा महान् पुस्तक हो । प्रकृतिको पुस्तकलाई पढ्न सजिलो छैन । यसका निम्ति धीरता चाहिँदो रहेछ तर म बाध्यतावस अधैर्य भएर साँझ पर्दा नपर्दै रात परेपछिको खास्टेको रूपको कल्पना गर्दै घर फर्कन हतारिएर फर्किएँ ।