कविराज घिमिरे
हिले, चैत १६ गते । धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न पाँचौँ प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ ।
सहिदभूमिमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले मोरङको बेलवारी भलिबल क्लबलाई २५–१८, २५–२१, २२–२५ र २५–२१ को सेटमा हराउँदै उपाधि जितेको हो ।
विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै एक लाख २१ हजार रुपियाँ हात पारेको छ । उपविजेता बेलवारीले ६५ हजार रुपियाँ पाएको छ ।
विजेतालाई गाउँपालिका अध्यक्ष मनोज राईले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा आयोजक टिम सहित हतुवा गढी गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर, बेलबारी नगरपालिका मोरङ, साँगुरी गढी गाउँपालिका धनकुटा र छथर जोरपाटी गाउँपालिका धनकुटा गरी ६ टिमको सहभागिता रहेको थियो ।
२०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झानामा २०७६ सालबाट ट्रस्ट स्थापना गरी प्रतियोगिता हुँदै आएको छ ।