कविराज घिमिरे
हिले, पुस ८ गते । खाद्यमा भएको मिसावटका कारण मानिसको स्वास्थ्यमा समस्या बढेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले आयोजना गरेको उद्योगी तथा उद्यमीलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् ।
होटेल एसोसिएसन धनकुटाका उपाध्यक्ष खगेन्द्र विष्टले मिसावटका कारण विभिन्न रोगको जोखिम बढेको गुनासो गर्नुभयो । अर्का सहभागी चन्द्र विष्टले अखाद्य बस्तुले मानव जीवनमा गम्भीर असर पुर्याएकाले नियमन बढाउनुपर्ने बताउनुभयो ।
डेरी एसोसिएसन धनकुटाका अध्यक्ष राजु घिमिरेले आफूहरू गुणस्तरमा प्रतिबद्ध रहेपछि विभिन्न कुराको ज्ञान नहुँदा समस्या हुने गरेको गुनासो गर्नुभयो ।
तर पछिल्लो समय प्रविधिले धेरै कुराको सहज भएको उहाँको भनाइ छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्रमुख खाद्य अनुसन्धान अधिकृत अमृता राईले खाद्य स्वच्छता, गुणस्तर र सो को कानुन प्रावधानको बारेमा बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा कोसी पहाडका धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका ४० भन्दा बढी उद्यमीको सहभागिता रहेको कार्यालयको अनुगमन अधिकृत सुशील कोइरालाले जानकारी दिनुभयो ।