• ८ पुस २०८२, मङ्गलबार

बङ्गलादेशमा पुरुषोत्तमको मिश्रित प्रदर्शन

blog

विपक्षीको चाल हेर्दै नेपालका पुरुषोत्तम सिलवाल ।

काठमाडौँ, पुस ८ गते । बङ्गलादेशको राजधानी ढाकामा आयोजित एमटिबि इन्टरनेसनल मास्टर्स चेस प्रतियोगितामा नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवालले मिश्रित नतिजा निकाल्नुभएको छ । 

इन्डिपेन्डेन्ट युनिभर्सिटीको आयोजना तथा बङ्गलादेश चेस फेडेरेसनको तत्वावधानमा ९ दिनसम्म सञ्चालन भएको त्रिदेशीय राउन्ड रोबिन चेस प्रतियोगितामा आयोजक राष्ट्रका २३७१ रेटेड अन्तर्राष्ट्रिय मास्टर रेजा नीर मनुनले ६.५ अङ्क जोडेर प्रथम स्थान हासिल गर्नुभयो । 

इन्डिपेन्डेन्ट युनिभर्सिटीको सभाहलमा सम्पन्न प्रतिस्पर्धामा बङ्गलादेशका २३३९ रेटेड एफएम सक्किन मुस्तफाले ६ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गर्नुभयो । 

म्युच्युअल ट्रष्ट बैंकको प्रायोजनमा सकेको खेल नतिजाअनुसार भारतका २३८८ रेटेड खेलाडी विभोर अदकले समान ६ अङ्क बनाएर प्रोग्रेसिभ प्वाइन्टका आधारमा तेस्रो हुनुभयो । 

१० जना शीर्ष खेलाडीबिच चलेको स्पर्धामा नेपालका २०७४ रेटेड क्यान्डिडेड मास्टर पुरुषोत्तम सिलवालले २.५ अङ्क बनाएर नवौँ र बङ्गलादेशका २०४६ रेटेड खेलाडी अमित बिक्रम रोयले दुई अङ्कसहित १०औँ स्थानमा रहनुभयो । 

नेपालका पुरुषोत्तम सशक्त खेलाडीहरुको सामाना गर्दै आफुभन्दा उच्च रेटेडका तिनजना खेलाडीसँग बराबरी गर्न सफल हुनुभयो । पुरुषोत्तमले २१११ रेटिङ प्रदर्शन गर्नुभयो ।