• १९ चैत २०८१, मङ्गलबार

आक्रमणविरूद्ध पत्रकार सडकमा

blog

लमजुङका पत्रकारहरू विरोध प्रदर्शन गर्दै । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुईकेल

लमजुङ, चैत १६ गते । शुक्रबार काठमाडौंमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा भएको पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध लमजुङका पत्रकारले सडकमा विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ लमजुङले शनिवार सदरमुकाम बेँसीसहरको भिमसेनस्थान चोकमा विरोध प्रदर्शन गरेको हो । 

काठमाडौँमा पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर टिभी, अन्नपूर्णपोस्टको कार्यालयमा गरिएको आगजनी तथा तोडफोड र अनलाइन खबरका पत्रकारमाथि भएको आक्रमणविरुद्ध पत्रकारले विरोध प्रदर्शन गरेका हुन् ।

पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, सञ्चारगृमाथिको आक्रमण बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको रक्षा गरौं, पत्रकारको सुरक्षा ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दाबादसहितका विभिन्न प्लेकार्ड बोकेर पत्रकारले बेँसीसहर बजारमा विरोध प्रदर्शन गरेको पत्रकार महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेलले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केद्रीय सदस्य कृष्ण केसीले विरोध सभालाई सम्बोधन गर्दै शुक्रबार भएको रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमण निन्दनीय र भर्त्सनायोग्य रहेको बताउनुभयो ।