• १९ चैत २०८१, मङ्गलबार

तौलिहवामा अशोक स्तम्भको खोजी

blog

महाकुम्भ स्नानपछि कपिलवस्तु तौलिहवा भएर फर्किंदै थियौँ । २०८१ फागुन १० गतेका दिन परिवारसहित फर्किंदा कपिलवस्तुतिरका पत्रकारिता र सामाजिक गतिविधिमा संलग्न साथीसँग भेटघाट कार्यक्रम बन्यो । धार्मिक, सांस्कृतिक हिसाबले महìवपूर्ण कपिलवस्तुतिरको घुमघाम गर्ने योजनासहित तौलेश्वरनाथ महादेव मन्दिरतिर लाग्यौँ । तौलेश्वरनाथकै नामबाट यस ठाउँको नाम तौलिहवा रहन गएको विश्वास गरिन्छ । यहाँ शिवलिङ्गका रूपमा महादेव विराजमान छन् । यो शिवलिङ्ग तामानिर्मित हो भन्ने विश्वासका आधारमा यस लिङ्गलाई ताम्रेश्वर महादेव पनि भनिन्छ ।

इतिहासमा उल्लेख भए अनुसार सम्राट् अशोकले यस क्षेत्रमा पाँच वटा स्तम्भ निर्माण गरेका थिए । तीमध्ये दुई वटाको पहिचान गर्न सकिएको छैन अर्थात् प्राप्त गर्न सकिएको छैन । केही अनुसन्धानकर्ताले यस मन्दिरको वरिपरि कतै एउटा अशोकस्तम्भ रहेको अनुमान गरेका छन् । केही बौद्ध विद्वान् र भिक्षुहरूले मुक्तिनाथ मन्दिरको शैलीमा बौद्धहरूले यहाँको शिवलिङ्गको पूजा गर्न पाउनु पर्छ भन्ने इच्छा व्यक्त गर्दै आएको लुम्बिनी विकास कोषका पूर्वसदस्य गोपीजीले जानकारी दिनुभयो । त्यो सम्भव हुन सकिरहेको छैन तर मलाई लाग्दैन यो असम्भव छ । यसमा के समस्या छ ? बौद्ध धर्मलाई हिन्दु धर्मबाटै अलग्गिएको सहायक धर्मका रूपमा स्वीकार गरिँदै आएको छ । हिन्दु र बौद्धमार्गीले मुक्तिनाथमा संयुक्त रूपमा पूजा गर्न सक्छन् भने, यहाँ किन गर्न सक्दैनन् ? प्रयागराजमा भएको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी सनातनीले भाग लिएको दाबी गरिएको छ । मेलामा को उपस्थित भए र को भएनन् भन्ने कुनै हिसाब छैन । त्यहाँ कुनै जातीय र वर्गीय भेदभाव देखिएन । हिन्दु धर्मका धेरै शाखा, वर्ग, उपवर्ग र सम्प्रदायका भक्तजन महाकुम्भमा सहभागी भए । महाकुम्भमा कुनै पनि घाट, कुनै विशेष समूहका लागि आरक्षित र सुरक्षित थिएन । सनातनीको मात्र नभई विश्वकै सबैभन्दा ठुलो जमघट बनेको महाकुम्भ मेलाले आपसी सद्भावको सन्देश दिएको छ । तौलिहवा त्यही प्रयागराजनजिकैको भूमि हो । यो तौलिहवाको भूमिले बुद्धको जन्मदेखि वयस्कसम्मको हरेक क्षणको साक्षी बन्ने गौरवबोध गरेको छ । तौलिहवामा रहेको तौलेश्वर मन्दिर बौद्ध धर्मावलम्बीका लागि पनि पवित्र स्थल र आस्था तथा भक्तिको औपचारिक केन्द्र बन्छ भने त्यसबाट के हानि हुन्छ ? 

भगवान् शिवको दर्शनपछि मन्दिरबाट बाहिर आयाँै । गुलाम अली भाइ भेटिए । तौलिहवा क्षेत्रमा मुस्लिम धर्मावलम्बीको उल्लेख्य उपस्थिति छ । यहाँका हिन्दु र मुस्लिमबिचको सौहार्द मेरा दृष्टिमा उदाहरणीय छ । तौलिहवा बजारका मुस्तफा र गुलामसँग मेरो पनि अत्यन्त आत्मीय सम्बन्ध छ । बाहिर गाडी आइपुगेको थियो । अब हाम्रो यात्रा प्राचीन तिलौराकोट दरबारतर्फ थियो । हामी तिलौराकोट दरबारतर्फ गइरहँदा यसअघि रामविकास, वसन्त, दिलीपसँग त्यहाँको भ्रमण गरेको कुरा सम्झिरहेको थिएँ । तिलौराकोटको यो प्राचीन दरबार बौद्ध वास्तुकलाको एक अनुपम उदाहरण मानिन्छ । प्राचीन संरचनायुक्त यो त्यही दरबार हो, जुन शाक्य वंशका राजा शुद्धोधनको राजधानी नगरमा अवस्थित रहेको मानिन्छ । पछिल्ला वर्षमा यहाँ पुराताìिवक उत्खनन जारी छ । यो महìवपूर्ण पुराताìिवक स्थल हो, जहाँ मैथिली भाषी पुरातìवविद् डा. तारानन्द मिश्र सुरुदेखि नै उत्खनन र अध्ययनमा संलग्न थिए । उनीसँग नेपाल, बौद्धकालीन सभ्यता, मिथिला र पछिल्लो समयमा गौर जिल्लाको पतौैरा महादेवको पुराताìिवक महìव, इतिहास र संस्कृतिका बारेमा प्रशस्त ज्ञान थियो, जसको पर्याप्त प्रकटीकरण हुन सकेन । दुर्भाग्यवश, डा. मिश्र अब हामीमाझ रहेनन् । 

अघिल्लो पटकको भ्रमण व्रmममा दरबार क्षेत्रबारे रामविकासले आवश्यक जानकारी दिनुभएको थियो । उहाँलाई यो पुराताìिवक स्थलका बारेमा हामीभन्दा बढी ज्ञान थियो । दरबारको पुराताìिवक उत्खनन र त्यसबाट प्राप्त निष्कर्षबारे जानकारी दिनुहुँदै रामविकासले कुनै प्रशिक्षित पथप्रदर्शकले जस्तो दरबारको केन्द्रीय संरचना क्षेत्र, दरबारको पूर्वी ढोका जहाँबाट युवराज सिद्धार्थ गौतम बाहिरिएका थिए, केन्द्रीय संरचनासँगै रहेको दक्षिणी भाग जहाँ राजा शुद्धोधनको सैन्य क्षेत्र र हतियार उत्पादन क्षेत्र रहेको आदिबारे राम्ररी व्याख्या गर्नुभएको थियो । 

त्यस यात्राका समयमा रामविकासले दरबारको केन्द्रीय संरचनाको छेउमा रहेको सानो मन्दिरनजिकै रोकिएर हामीलाई मन्दिरबारे जानकारी दिनुभएको थियो, “यो समइमाईको मन्दिर हो । समयमाई पनि भनिन्छ । यहाँका धेरै स्थानीयले समइमाईलाई शाक्य वंशका राजाहरूको कुलदेवी पनि मान्दछन् । स्थानीयले यस देवीप्रति अटल आस्था, भक्ति र विश्वास छ । अपार समर्पण छ । यस देवीले मानिसको मनोकाक्षा पूरा गर्छिन् ।” 

रामविकास, वसन्त र दिलीपसँगको पुरानो यात्रा सम्झँदासम्झँदै अजयसँग हामी तिलौराकोट दरबार क्षेत्रमा पुगिसकेका थियौँ । पुरानो भ्रमणका स्मृतिका आधारमा समइमाईको दर्शन पुनः गर्ने आकाङ्क्षा थियो । 

अजय यहीँका स्थानीय हुन् । उहाँको परिवार तिलौराकोट दरबार क्षेत्रको पुरानो बासिन्दा हो तर अहिले बजारमा बस्दै आएका छन् । उहाँलाई तिलौराकोट दरबार र यस क्षेत्रको संरचनाका बारेमा राम्रो जानकारी छ । पत्रकारमा जानकारी गराउने सिप पनि हुने नै भयो । उहाँले हामीलाई दरबारपरिसर, उत्खननको स्थिति र परिणामका बारेमा जानकारी दिनुभयो । गफगाफ गर्दै हामी बिस्तारै अगाडि बढ्दै थियौँ । उहाँले यस क्षेत्रको पुराताìिवक अन्वेषण र अध्ययनका व्रmममा कार्बन डेटिङ, भूमिगत फोटोग्राफी आदिबारे सामान्य जानकारी दिनुभयो । यसै व्रmममा पुरातìव विभागका अधिकृत माधव आचार्यसँग पनि परिचय भयो । अजय र माधवजी दुवै जनाले सामूहिक रूपमा चिन्ता व्यक्त गर्नुभयो, ‘यो क्षेत्र अझै पनि विश्वसम्पदा स्थलका रूपमा सूचीबद्ध हुन सकेको छैन । यो क्षेत्रलाई युनेस्कोले विश्वसम्पदाका रूपमा सूचीकृत नगरे यसको इतिहासको अध्ययन, सभ्यता र संस्कृति संरक्षण एवं विकासमा प्रतिकूल असर पर्न सक्छ ।”

अजयले स्पष्ट गुनासो राख्नुभयो, “राज्यले यस सम्बन्धमा जति पहल गर्नुपर्ने हो सायद त्यति गरिरहेको छैन । किन ? कारण खोजिनु पर्छ । पछिल्ला दिनमा कमजोर हुँदै गएको यस क्षेत्रको पुराताìिवक अध्ययनलाई यसको प्रमाणका रूपमा लिन सकिन्छ ।”

अजय मात्र होइन, स्थानीय पनि असन्तुष्ट छन्, “सरकारले उत्खननका नाममा वरपरको जग्गा अधिग्रहण त गरिरहेको छ तर पुराताìिवक अध्ययनको गति भने सुस्त छ । धेरै स्थानीय यहाँबाट अन्यत्र सर्न बाध्य छन् ।” केही स्थानीयले त आफूहरूलाई जग्गाको अधिग्रहणपछि उचित मूल्य नदिइएको गुनासो पनि गरे ।  

दरबार क्षेत्रको भ्रमण गर्दै हामी एक पटक पुनः समइमाईको मन्दिरको सामुन्ने उभिएका थियौँ । अजय र माधवजीले मन्दिर र छेवैको दरबारको केन्द्रीय संरचनाका बारेमा जानकारी गराउनुभयो । हामीले देवीप्रति कृतज्ञता व्यक्त ग-यौँ । पूजा ग-यौँ र माटोको हात्तीको भेटी पनि चढायौँ । मन्दिर पहिलेभन्दा पनि जीर्ण हुँदै गएको जस्तो देखिन्थ्यो । यस क्षेत्रको प्रसिद्ध र लोकप्रिय मन्दिर भए पनि यसको संरक्षण र उचित मर्मतसम्भारको अभाव प्रत्यक्ष अनुभव गर्न सकिन्थ्यो । एउटा सानो जीर्ण कोठामा सीमित मन्दिरले केन्द्र, राज्य र स्थानीय सरकारबाट उचित ध्यान पाएको देखिएन । यहाँ लुम्बिनी विकास कोष जस्तो सक्रिय, स्रोतसाधन सम्पन्न र शक्तिशाली स्वायत्त विकास संस्था नहुँदा पनि यस क्षेत्रको विकास प्रभावित हुन पुगेको स्थानीयको ठम्याइ छ । 

कुदानमा संरक्षण समस्या

हामी दरबारपरिसरको पूर्वी ढोकातिर लाग्यौँ जहाँबाट राजकुमार सिद्धार्थ गौतम २९ वर्षको उमेरमा बाहिरिएका थिए । बाहिरिएपछि सिद्धार्थ कहिल्यै दरबार फर्किएनन् । बुद्धत्व प्राप्तिको केही समयपछि  भगवान् गौतम बुद्ध सहरको बाहिरी भागमा रहेको कुदान (निग्रोधराम) मा आई प्रथम प्रवचन दिएका थिए । कुदान पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ । तिलौराकोट दरबारको पूर्वी ढोकाको अवलोकनपछि हामी कुन बेला कुदान पुग्यौँ थाहै भएन । बुद्धले आफ्नो जीवनको पहिलो प्रवचन यहीँ दिएको विश्वासमा यस स्थानमा विहार र चैत्य निर्माण गरिएका छन् । यस परिसरमा एउटा जीर्ण सानो शिवमन्दिर पनि छ । शिवमन्दिर पुरानो कि यहाँका चैत्य विहार पुराना ? छलफलको विषय बन्ने गरेको छ तर सत्य त के हो भने यो सम्पूर्ण परिसर संरक्षणको अभाव बेहोर्न बाध्य छ ।  विहारका इँटा बाहिर निस्किएका छन् र विहारको माथि जाने फलामका सिँढी ठाउँ ठाउँमा खिया लागेका छन् र भाँचिएका छन् । समस्या तिलौरेकोट दरबारको जस्तै छ, जगबाट इँटा झरिरहेका छन् तर कसले हेर्ने ? म यसबारे सोचिरहेको थिएँ र गाडी तोलिहावातिर दगुरिरहेको थियो । कुदान बिस्तारै पछाडि पर्दै थियो ।